काठमाडौं । गुल्मीमा पेट्रोल राखेर स्टार्ट गर्ने क्रममा अचानक मोटरसाइकलमा आगलागी हुँदा मोटरसाइकल जलेर जष्ट भएको छ ।
गुल्मी गुल्मीदरबार-४ बस्ने बर्ष ३० को कृष्ण बुचाको लु८प१०५३ नम्बरको मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुचाले तम्घास बसपार्कस्थित शिव शक्ति आयल स्टोर्समा पेट्रोल भरिसकेपछि स्टार्ट गर्न लाग्दा मोटरसाइकलमा आगो लागेको हो ।
आगलागीबाट मोटरसाइकल जलेर पूर्णरूपमा क्षति भएको, मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा लागेको आगो नेपाल प्रहरी र रेसुङ्गा नगरपालिकाका नगर प्रहरीले नियन्त्रणमा लिएका थिए ।