March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

‘मुक्कुम्लुङ छोड’ आन्दोलनको घोषणा

1.1K

काठमाडौं । ताप्लेजुङ जिल्लामा अवस्थित आध्यात्मिक स्थल पाथीभरामा केवलकार निर्माण गर्ने बिषयलाई लिएर ‘मुक्कुम्लुङ छोड’ आन्दोलनको घोषणा भएको छ । विभिन्न प्रतिनिधि संघसंस्थाहरूले सोमबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेको हो ।

उक्त स्थानमा केवलकार निर्माण गरिने निर्णय भएसँगै पहिचान पक्षधरहरूले विभिन्न संघर्ष समिति गठन गरी आन्दोलन सुरु गरेका थिए । आन्दोलनरत पक्ष र जिल्लास्थित राजनीतिक दलहरूको परामर्श र सहमति नभई निर्माण कार्य नगर्ने, नगराउने भन्ने सम्झौता भए पनि सम्झौता उल्लङ्घन गरेर केवलकार निर्माण गर्न खोजिएको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ताप्लेजुङ जिल्लामा अवस्थित पवित्र आस्थाको केन्द्र आध्यात्मिक स्थल मुक्कुम्लुङ युमामाङ देवस्थललाई राज्यसत्ता र शक्तिको आडमा अतिक्रमण गरी पाथिभरा बनाइएको, त्यहाँ केबलकार बनाउन मुक्कुम्लुङ क्षेत्रमा डकैत शैलीमा आधारातमा मुन्धुमी बोटविरुवा, बहुमूल्य जडिबुटीजन्य वनस्पति लगायत लाखौँ राष्ट्रिय फूल लालिगुराँस काटेको विरुद्धमा विगत ६ वर्षदेखि नै हामी आन्दोलनरत रहेको सर्वविदितै छ। मुक्कुमलुङ अतिक्रमण हुन नदिन र केवलकार निर्माणका गतिविधिहरूका सम्बन्धमा २०८१।०२।०५ गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको रोहवरमा आन्दोलनरत पक्ष र जिल्लास्थित राजनीतिक दलहरूको परामर्श र सहमति नभई निर्माण कार्य नगर्ने, नगराउने भन्ने सम्झौतालाई उल्लङ्घन गरेर सरकारी र व्यापारिक समूहबाट बलमिच्याइ गरेर जनपथ प्रहरी र सशस्त्र प्रहरी लगाएर न्यायका लागि लड्नेहरूलाई जवरजस्ती पक्डेर हिरासतमा राखी पवित्र आस्थाको स्थलमा केबलकार बनाउन दलबलसहित गएको हुँदा सरकारले केबलकार निर्माण लाइसेन्स खारेज नगरेसम्म ‘मुक्कुम्लुङ छोड’ आन्दोलन घोषणा गर्दछौं ।’

Advertisement

यस्तै, संघर्ष समितिले केबलकार निर्माण कार्य बन्द गर्न ७ दिने अल्टिमेटम समेत दिएको छ । ‘मुन्धुमी पवित्र आस्थाको स्थल मुक्कुम्लुङमा केबलकार निर्माण गर्ने व्यापारिक कम्पनीलाई केवलकार निर्माणको कार्यालय बन्द गर्न र मुक्कुम्लुङ क्षेत्रभित्र केबलकार निर्माणको कुनै पनि गतिविधि नगरी आजको मिति २०८१ भदौ १६ गतेदेखि भदौ २३ गतेसम्ममा मुक्कुम्लुङ छोड्न अल्टिमेटम दिन्छौं’, विज्ञप्तिमा उल्लेख छ ।

केबलकार कम्पनीले अल्टिमेटम बमोजिम नगरेमा केबलकार पक्ष र सरकार मुन्धुमी स्थललाई समाप्त गर्ने गरि असहिष्णु भएको ठहर गर्दै भदौ २४ गतेदेखि केबलकार निर्माण लाइसेन्स खारेज नभएसम्म फुङलिङ बजारदेखि काफ्लेपाटीसम्म अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणासमेत समितिले गरेको छ ।