भेरीगङ्गा। सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । दैलेखबाट सुर्खेत आइरहेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा नजिक दुर्घटना भएको हो ।
मृत्यु हुनेमा दुल्लु नगरपालिका–१० गमौडी घर भई हाल ठाकुरबाबा नगरपालिका–५ नेउलापुर बस्दै आएका ६५ वर्षीय शेरबहादुर खड्का र दैलेख डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन राना रहेका छन् ।
प्रहरीका अनुसार गाडीमा सवार अन्य २१ जना घाइते भएकामध्ये एक जना गम्भीर घाइते भएका छन् भने अन्य २० जनाको अवस्था सामान्य रहेका छन्।
घाइतेको कर्णाली प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगरका केही मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट तल खसेको तर रूखमा अड्किँदा थप मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
तीव्रगतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।




