November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

हमास र इजरायलबीचको युद्ध बिरामलाई ‘स्थाई युद्ध विराम’मा परिणत गर्न अपिल

1.7K


काठमाडौं । नेपालका विभिन्न राजनीतिक दल र सङ्गठनमा आवद्ध मानव संकट समाधानको लागि समाजवाद एसिया स्तरीय सम्मेलन तयारी समितिका सदस्यहरुले हमास र इजरायल बीच भएको अस्थाई युद्ध बिरामलाई स्थाई युद्ध विराममा परिणत गर्न जोडदार अपिल गरेका छन् । 

मानव संकट समाधानको लागि समाजवाद  एसिया स्तरीय सम्मेलन तयारी समितिका सदस्यहरुले एक विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी निर्दोष र निहत्था जनताको बाँच्न पाउने अधिकार तथा प्यालेस्टिनी स्वाधीन राज्यको सम्मान गर्न जोडदार आह्वान गरेको समितिमा सम्वद्ध नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य बलराम बाँस्कोटाले बताए ।

‘इजरायलले हमासको अस्तित्व समाप्त गर्ने नाममा जसरी अस्पताल, विद्यालय, शरणार्थी शिविर र मानव बस्तीहरू माथि निर्मम बम बर्षा गरेर आम नरसंहारको क्रूर ताण्डव देखायो । यो घटना २१ औ शताब्दीको घोर अमानवीय र नरसंहारको रुपमा अंकित हुने छ ।’, विज्ञप्तिमा भनिएको छ ।

Advertisement

युद्धले विश्व मानव समुदायलाई अत्यन्तै मर्माहित बनाएको र विश्वब्यापीरुपमा घोर विरोधको आवाज उठ्नुका साथै स्थायी शान्तिको माग भइरहेको उल्लेख गर्दै त्यसप्रति पूर्ण सहमति जनाउँदै ऐक्यबद्धता जाहेर गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘हामी वर्षौँदेखि राज्यविहीन बनाइएका प्यालेस्टिनी जनताको स्वाधीन र सार्वभौम प्यालेस्टिनी राज्यको न्यायपूर्ण मागलाई उच्च सम्मान गर्दछौ र संयुक्त राष्ट्र संघको अत्याधिक बहुमतको दुई राज्य प्रस्ताबलाई अनुमोदन गरेर कार्यान्वयन गर्न मध्यपूर्वमा स्थायी र दिगो शान्तिको सुनिश्चतता गर्न बिश्व राष्ट्र समुदायमा पुनः हार्दिक अपिल गर्दछौं ।’, विज्ञप्तिमा भनिएको छ ।