काठमाडौं । इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि काठमाडौंबाट तेल अभिभतर्फ नेपाल वायुसेवा निगमको विमान उडेको छ । निगमको ‘एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए–३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको हो ।
जहाजमा परराष्ट्र मन्त्री एनपी साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएका छन् । उक्त जहाज बेलुका ९ः१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
ट्रान्जिट हुँदै इजरायल जाने यस जहाजले सुरुमा नेपाली राजदूतावासको सम्पर्कमा आएका विद्यार्थीहरूलाई उद्धार गरिने जनाइएको छ ।
प्यालेस्टाइनको हमास समूहले शनिबार गरेको आक्रमण परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । ४ जना घाइते भएका छन् । अन्यले बंकरभित्र लुकेर ज्यान जोगाएका थिए ।
युद्धग्रस्त क्षेत्रबाट फर्कन ३५० भन्दा बढी नेपाली विद्यार्थीले फाराम भरेका थिए । आज गएको २७४ यात्रु क्षमताका वाइडबडी विमानमा २५४ जना विद्यार्थी नेपाल फर्कनेछन् । लगत्तै अन्यलाई पनि नेपाल फर्काइने जनाइएको छ ।