काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार ‘बैण्ड कन्सर्ट’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी संगीत विद्यालय र ‘बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्’बाट सामूहिक रुपमा उक्त कन्सर्ट सम्पन्न भएको
हो ।
सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयका तर्फबाट प्रहरी नायव उपरीक्षक भुलाराज खनालसमेतको टोली र ‘बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज’्का तर्फबाट संगीत निर्देशक सुनिल गुरुङसमेतको टोलीद्वारा विभिन्न सुमधर धुन प्रस्तुत गरिएको थियो ।
वि.सं.२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगीत विद्यालय बैण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलहरूमा समयसमयमा सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ । ‘बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्’ र नेपाल प्रहरी संगीत विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ । संयुक्त रुपमा यी दुवै बैण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू हुने गरेका छन् ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्का प्रतिनिधिहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।