धनगढी : डोटीमा नेपाली काँग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। नेपाली काँग्रेस डोटीका सचिव गणेश खड्काले डोटीमा काँग्रेस एक्लैले चुनाव लड्ने निर्णय गरेको पुष्टि गरे।
उनका अनुसार आज (बिहीबार) बसेको जिल्ला कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। ‘गठबन्धनको कुनै आवश्यकता र औचित्य छैन’, उनले भने, ‘डोटीमा हामी एक्लै लड्छौं। आज बैठकले उम्मेदवार बन्न आकांक्षीहरू पनि सिफारिश गरेको छ।’
केन्द्रीय गठबन्धनको निर्णयविपरीत डोटीमा एकल चुनाव लड्ने निर्णय डोटी कांग्रेसले गरेको हो। केन्द्रीय गठबन्धनले सबै जिल्लामा गठबन्धन र भागबण्डाका आधारमा निर्वाचनमा जाने निर्णय गरेको थियो।
गठबन्धनका ‘हेभिवेट’ नेताको निर्वाचन क्षेत्रका रुपमा परिचित डोटीमा भागबण्डा र टिकटको कुरा नमिल्ने देखिएपछि यस्तो निर्णय गरिएको बताइएको छ।
यहाँबाट गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले र नेकपा माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिनिधिसभामा टिकटका लागि दाबी गरिरहेका थिए।
उनीहरूबीच गठबन्धनमा टिकट लिने किचलो चलिरहेकै वेला काँग्रेस डोटीले एकल रुपमा चुनाव लड्ने घोषणा गरेको छ।