काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघकी अध्यक्ष कुशुम लता सिंहको प्रमुख आतिथ्यतामा भृकुटीमण्डपमा आइतबार आयोजित एक कार्यक्रमबीच
साधारणसभा सम्पन्न भएको हो ।
उक्त सभालाई सम्बोधन गर्दै संघकी अध्यक्ष सिंहले संघलाई आउँदा दिनहरूमा स्तरोन्नति गरी अझ प्रभावकारी बनाई उत्कृष्ट संस्थाको रुपमा विकास गर्न संस्था सम्बद्ध सबैले मन, वचन र कर्मले काम गर्नुपर्ने बताइन् । संघलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सक्षम संस्थाको रुपमा स्थापित गर्न सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रसँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् ।
यस्तै, अध्यक्ष सिंहले सम्पूर्ण प्रहरी कर्मचारीका परिवारहरूको साझा चौतारीको रूपमा रहेको संघलाई आगामी दिनमा समयसापेक्ष बनाउँदै लैजानुपर्ने उल्लेख गरिन् । विगतमा भएका कार्यहरूको विश्लेषण गरी नयाँ नीति तथा कार्यक्रम बनाई संघको उद्देश्य परिपूर्तिका लागि सबै पदाधिकारीहरूको सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरिन् ।
कार्यक्रममा संघकी महासचिव सुनम पोखरेल उपाध्यायले संघको कार्य प्रगति तथा वार्षिक गतिविधि विवरण प्रस्तुत गरेकी थिइन् । उनले संघले विभिन्न संघसंस्थासँग हालै गरेको सम्झौता अनुरुप ती संस्थाबाट प्राप्त हुने सेवा सम्बन्धमा जानकारी समेत दिइन् ।
यस्तै, संघकी कोषाध्यक्ष अनुश्री पाख्रिनले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक आय–व्यय र आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा उपस्थित संघका पदाधिकारीहरू तथा सदस्यहरूबीच संघको काम कारवाही, आगामी योजना तर्जुमा लगायत विभिन्न विषयमा अन्तरक्रिया समेत भएको थियो ।