April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आगलागीबाट ५ घर र १५ गोठ नष्ट

2.6K

पर्वत- दक्षिण पर्वतको पैयुँ गाउँपालिका-६ डाँडाकाहुँमा शुक्रबार आगलागी हुँदा पाँच घर र १५ गोठ जलेर पूर्णरुपमा क्षति पुगेको छ।

डाँडाकाहुँको भीरमा रहेको जङ्‍गलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि घर र गोठ जलेर नष्ट भएका हुन्। आगलागीबाट स्थानीय शेरप्रसाद गौतम,  रेशमलाल गौतम, नमप्रसाद सापकोटा, रेशमलाल सापकोटा, जयकला सापकोटाको घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने खड्काप्रसाद गौतम, एकनारयण गौतम, चोलाकान्त सापकोटा, छविलाल गौतम, उमेश गौतमको घरमा आंशिक क्षति पुगेको छ।

त्यसैगरी स्थानीयका १५ वटा गोठ जलेर पूर्णरुपमा क्षति पुगेको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिए। घरवारविहीन भएका अहिले आफन्तकोमा आश्रम लिएर बसेका छन्।

Advertisement

आगालागीबाट पूर्ण क्षति भएका पाँच परिवारलाई तत्काल स्थानीय पैंयु गाउँपालिकाले नगद १० हजार, खाद्यान्‍न र लत्ताकपडा वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए। त्यसैगरी अन्य सामान्य क्षति पुगेकालाई टेण्ट र त्रिपाल वितरण गरिएको उनले बताए। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।

आगलागीबाट मानवीय क्षति नभए पनि केही पशुचौपाया मरेका छन्। आगो नियन्त्रणका लागि पर्वतको सदरमुकाम कुश्मा बजारबाट २१ जना सशस्त्र प्रहरी र २१ जना नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो। आगो राति अबेर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।