April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

रामकोटको वद्रिनारायण धाममा प्राण प्रतिष्ठाको पूर्वसन्ध्यामा पदयात्रा

750

काठमाडौं । काठमाडौंस्थित नागार्जुन नगरपालिका–७ रामकोटमा रहेको वद्रिनारायण धाममा यही बैशाख १९ गतेदेखि सुरु हुने प्राण प्रतिष्ठा एवम अनुष्ठानको पूर्वसन्ध्यामा शनिबार पदयात्राको आयोजना गरिएको छ ।

नारायण पोखरेल प्रतिष्ठान र अल नेपाल स्पोर्टस् फाउन्डेसनको आयोजनामा भएको पदयात्रा सितापाइला चोकदेखि सुरु भइ बद्रिनारायण धाममा पुगेर विसर्जन गरिएको थियो । आगामी बैशाख १९ देखि २७ गतेसम्म हुने अनुष्ठान कार्यक्रमको पूर्व जागरणका लागि पदयात्रा एवम वाकाथुन गरिएको पण्डित दिनबन्धु पोखरेलले बताए ।

‘घर–घरबाट उठौं, बस्ती बस्तीबाट जुटौं, यो महान अभियानमा कोही नछुटौं । सनातनी गौरव नेपालीको सान, दर्शन गरौं बद्रिनारायण धाम,’ नारा दिएर हामी महान अभियानमा छौं । नेपाली कला, संस्कार र संस्कृति विश्वभर फैलाउने अभियानमा छौं, पदयात्राको समापन समारोहमा सम्बोधन गर्दै पोखरेलले भने ।

Advertisement

नेपालीहरुले अब चार धामका लागि भनेर भारत जानुपर्ने बाध्यता नुहने भन्दै अब बद्रिनारायण धाम नै चार धाम मान्न सकिने उनको दाबी थियो । धाम निर्माणका लागि विश्वभरका नेपालीहरुको साथ रहेको उल्लेख गर्दै एउटा ठूलो सपना पूरा भएकोमा गर्व समेत गरे ।

पदयात्रामा नागार्जुन नगरपालिका भित्रका प्राय सबै संघसंस्था, आमा समूहहरु, क्लब, सरकारी निकायका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता थियो । धिमे र पन्चे बाजा, नाचगानसहित पदयात्रामा सहभागि भएकाहरुले काठमाडौंको विकट मानिने रामकोटमा धाम निर्माणपछि अब सुगम बन्दै गएकोमा खुशी व्यक्त गरे । प्रतिष्ठाका अवसरमा विश्व भजन प्रतियोगिताको पनि आयोजना गरिने कार्यक्रममा जानकारी दिइयो ।

शनिबार नै पण्डित पोखरेलले वद्रिनारायण धाम लेखिएको बोर्डपनि अनवरण गरेका छन् । प्रतिष्ठामा विश्वका ८० देशबाट भक्तजनहरु रामकोट पुग्ने आयोजकको दाबी छ । भारतबाट पनि प्रतिष्ठित सनातन धर्मका प्रवद्र्धकहरु धाममा पुग्ने बताइएको छ । प्रतिष्ठा एवम अनुष्ठानको बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।

करिब एकसय रोपनी जग्गामा निर्माणमा भइरहेको धामको ४० प्रतिशत मात्र काम सकिएको छ । जसका लागि अनुमानित १४ करोड रकम खर्च भइसकेको र गुरुयोजना अनुसार सम्पूर्ण काम सक्न थप एक अर्ब रुपैंयाँ बजेट आवश्यक पर्ने प्रतिष्ठानले जनाएको छ ।