April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आन्दोलनरत शिक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशन: ५२ प्रतिशत बालबालिका फेल भएका छन्, फर्किनुस्

425

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामार्फत सहमति गरेर काममा फर्किन निर्देशन दिएका छन्।

सोमबार काठमाडौंमा आयोजित एमालेनिकट प्राध्यापक सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,’आन्दोलन गरेर उहाँहरूलाई पनि कुनै लाभ छैन। विद्यार्थीलाई घाटा छ। मेरो आग्रह छ, सरकार उहाँहरूको मागप्रति नकारात्मक हुने अवस्था छैन। तुरुन्त वार्तामा आएर सहमति गर्नुस् र फर्किनुस्। औपचारिक वार्ता नै गर्नुहुन्न भने त त्यो अनौठो नै भयो। आन्दोलन गर्ने तर, वार्ता नगर्ने भन्ने हुन्न। वार्तामा आउनुस्, फर्किएर काममा जानुस्।’

प्रधानमन्त्री ओलीले शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था नै नभएको बताए। उनले भने, ‘उता ५२ प्रतिशत बालबालिकाहरू फेल भएका छन्। ५२ प्रतिशत फेल गराउने भनेर कतिपय शिक्षक साथीहरूले चित्त दुखाएका छन् भन्ने सुनेँ। तर, फेल भएका छन् नि त। उपयुक्त समयमा पेपर काटेर रिजल्ट आउट गर्नुपर्छ। पूरक परीक्षा दिने सिस्टम सुरु भएको छ। त्यसको तयारी गर्नुपर्‍यो। अब तपाईंहरू फर्किनुस्।’ 

Advertisement

शिक्षकहरूलाई अविलम्ब वार्तामार्फत समाधान खोजेर विद्यालय फर्किन प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । उनले भने, ‘अहिले प्रतिगामी शक्तिहरू सलबलाएका बेलामा अराजकता फैलाएको बेला किन आन्दोलन किन गर्ने ? प्रतिगामीहरू उपद्रव मच्चाइरहेका छन्, यो प्रतिगामी उपद्रव हो। जसको सामना गरिनेछ। संविधानसम्मत ढङ्गले सामना गरिनेछ। आवश्यकताअनुसार यसलाई सामना गरिनेछ। त्यसमा बल पुग्नेगरी अहिलेको परिस्थितिमा किन आन्दोलन गर्ने ? संविधान विपरीतका कुराहरूलाई सरकारले नियन्त्रण गर्छ। कानूनविपरीतका कुराहरूलाई सरकारले नियन्त्रण गर्छ। कानूनसम्मतका कुराहरूलाई सरकार सम्मान गर्छ ।’

उनले थपे, ‘उहाँहरू किन सडकमा आइरहनुपर्‍यो ? अब आइसक्नुभयो, कुराकानी अविलम्ब गर्नुस्, कुरा टुङ्ग्याएर फर्किनुस्, बालबालिकाका नयाँ भर्ना लिनुस् र अगाडि बढ्नुस्। मेरोचाहिँ आग्रह छ। मैले धेरै कुरा भनिनँ।’