फिलिपिन्सको एक आवासीय समुदायमा भीषण आगलागी हुँदा कम्तीमा दुई हजार व्यक्ति घरविहीन भएका छन्। आइतबार बिहान राजधानी मनिलास्थित समुदायमा भएको आगलागीबाट करिब एक हजार घरटहरा जलेर नष्ट भएको अन्तरास्ट्रिय समाचारहरूमा उल्लेख छ।
फिलिपिन्सको वायु सेनाले ‘मनिला बे’ क्षेत्रमा अवैध बसोवास गर्नेहरूको जलिरहेको वस्तीको आगो निभाउन पानीको प्रयोग गर्न हेलिकप्टरहरू पठाएको र फिलिपिन्सको तटरक्षक बलले पनि आगो नियन्त्रणमा लिन चारवटा दमकल पठाएको जनाइएको छ।
आगो नियन्त्रणमा लिन करिब ३० वटा दमकल घटनास्थलमा जम्मा भएका थिए। यद्यपि, खाडीबाट आएको तीव्र बतासका कारण आगोको तीव्र फैलावट भएको अन्तरास्ट्रिय समाचारहरूमा उल्लेख छ।
आगलागीपछि भागेका बासिन्दाहरू सडकमा जम्मा भएका कारण पनि अग्निनियन्त्रकलाई बस्तीभित्र पस्न गाह्रो भएको थियो।
कुनै हताहत भएको खबर प्राप्त नभए पनि आगो निभाउने क्रममा केही अग्निनियन्त्रकहरू घाइते भएका छन्। आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।