भादगाउँ- भक्तपुरको चित्तपोलमा आज टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।
सूर्यविनायक नगरपालिका-१० स्थित नलिञ्चोकबाट चित्तपोलतर्फ जाने भित्री सडकमा बा ४ ख ९८१० नंको टिपरले मे ८ प ८३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको हो।
टिपरको ठक्करबाट घाइते भएकी सोलुखुम्बु दूधकुण्ड गाउँपालिका-११ घर भई हाल काठमाडाैं हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। घाइते कार्कीलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए।
उक्त घटनामा मृतकका छोरा मोटरसाइकल चालक ३४ वर्षीय प्रकाश कार्की सकुशल रहेको प्रनाउ गिरीले बताए। घाइते महिलालाई नलिञ्चोकस्थित प्रहरीको प्रहरी सहायक निरीक्षक रवीन्द्र थापा नेतृत्वको सिआरभी टोलीले उद्धार गरी अस्पताल लगिएको थियो।
प्रहरीले घटनामा संलग्न दुवै सवारीसाधन र टिपरका चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ बस्ने २३ वर्षीय सुनिल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।