November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

छिटो दल दर्ताका लागि निर्वाचन आयोगको आह्वान

810

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भइसकेकाले छिटोभन्दा छिटो दल दर्ताका लागि आउन आह्वान गरेको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा दर्ता भएका दलमध्ये कुन–कुनले भाग लिने हो, त्यसका लागि आयोगले सूचना निकाल्नेछ । आयोगमा सूचीबद्ध दलहरूले नै उक्त सूचनाअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि पुनः दर्ता गराउन पाउनेछन् । राजनीतिक दलसम्बन्धी ऐनले तोकेका आवश्यक मापदण्ड पूरा गरेर दल दर्ता गराउन सकिने आयोगले जनाएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २ को खण्ड (ञ) मा निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मको अवधिलाई निर्वाचन अवधि भनिएको छ । त्यसअनुसार आगामी २० कात्तिकदेखि निर्वाचन अवधि सुरु हुनेछ । आयोगले निर्वाचनका कार्यक्रमहरू प्रारम्भ गर्नेछ । निर्वाचन कार्यक्रम प्रारम्भ हुनासाथ आयोगले दल दर्ता गराउन आह्वान गर्ने अभ्यास छ । ४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले २० साउनमा दल दर्ताको आह्वान गरिएको थियो । मतदान हुनुभन्दा १ सय ५ दिन अगाडि उक्त सूचना निकालिएको थियो ।

Advertisement

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को परिच्छेद २ अनुसार दल दर्ताका लाग दलको विधान, घोषणा पत्र, झन्डा र चिह्नको नमुना तयार पार्नुपर्छ । कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र उनीहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर चाहिन्छ । त्यसरी प्रतिबद्धता जनाउने व्यक्तिहरूले अर्को दलको सदस्य नभएको उद्घोषसमेत गरेको हुनुपर्छ । कम्तीमा २१ सदस्यीय केन्द्रीय समिति गठन गरी निवेदन दिन पाइनेछ ।