काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको रहेको बताएका छन् । नेपाली महिलाहरूको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै उनले समय क्रममा महिलामात्रै ब्रत बस्ने परम्परा विकसित भएको बताएका हुन् ।
‘शील, सौजन्य र उदारताको पर्व’ शीर्षकमा प्रधानमन्त्री ओलीले सामाजिक संजालमा लेखेका छन्, “हरितालिका तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ । तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ । प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो। अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन् ।”
प्रधानमन्त्री ओलीले थप लेखेका छन्, “हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ । पछिल्लो समयमा विज्ञानले पनि व्रतले शरीरलाई फाइदा पुर्याउँछ भन्ने चर्चा गर्न थालेको छ ।”
यस्तै, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
देउवाद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ, “हाम्रो देश धार्मिक, सांस्कृतिक र परम्परागत विविधताले भरिपूर्ण एक समृद्ध भूमि हो । यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काउँछ । ती मध्ये हरितालिका तीज नेपाली महिलाहरूले विशेष रूपमा मनाउने महत्वपूर्ण पर्व हो । तीजले महिलाहरूको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नुका साथै चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । यस पर्वले समाजमा सौहाद्र्रता, एकता, प्रेम, सद्भाव, विश्वास र भाइचाराको भावना सुदृढ गर्दै हाम्रो समाजलाई एक साझा फुलबारीका रूपमा प्रतिविम्वित गर्दै आएको छ । यी पर्वहरूले हाम्रो सामाजिक जीवनलाई मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानलाई समेत मजबुत बनाएको छ । यी पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन् ।
यो पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद अपनत्व अभिवृद्धि गर्न सकोस् । हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीवहिनीहरूमा पार्टी र मेरो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
नेपाली महिलाहरूको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै उनले सामाजिक संजालमा लेखेका छन्, “स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्दछु । नेपाली महिलाहरूले परापूर्वकालदेखि सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएको तीजको मौलिक पक्षको संरक्षण गर्नुका साथै नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात् गर्दै यसलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा समेत लिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।”




