November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रचण्डविरूद्ध जनार्दनले लगाएका आरोप स्थायी समितिद्धारा खारेज

940

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध उपमहासचिव जनार्दन शर्माले लगाएको आरोप स्थायी समितिको बैठकले खारेज गरेको छ । स्थायी समिति बैठकको निर्णय बिहीबार तल्ला समितिहरूमा सर्कुलर गर्दै माओवादी केन्द्रले उपमहासचिव शर्माले आत्मालोचित हुन नमानेको उल्लेख गरेको हो ।

सर्कुलरमा भनिएको छ, ‘स्थायी समिति बैठकमा आन्तरिक पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा पार्टीका केन्द्रीय उपमहासचिव जनार्दन शर्मा प्रभाकरका सार्वजनिक अभिव्यक्ति र गतिविधिबारे गम्भीर छलफल भयो । छलफलका क्रममा विशेषतः पार्टी नीति र नेतृत्वविरूद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रुपमा माइन्युटमा हस्ताक्षर नगर्ने, गुटबन्दीजन्य गतिबिधिहरू सञ्चालन गरिरहने जस्ता कार्यहरू पार्टी नीति विपरित भएको ठहर सहित स्थायी समिति सदस्यहरूबाट प्रभाकरलाई उक्त क्रियाकलापहरूप्रति आत्मालोचना गरी गल्ती कमजोरी सच्याउन जोड दिइयो। अध्यक्ष कमरेडले बैठकको अन्तिमसम्म पनि स्थायी समितिका सदस्यहरूको सुझाव र आलोचनालाई आत्मसाथ गरी कमजोरी सच्याउन विशेष आग्रह गर्नुभयो। तर कमरेड प्रभाकरले माइन्यूटमा हस्ताक्षर नगरेको बिषय बाहेक अन्य विषयहरूमा ठोस रुपमा आत्मालोचना गर्नुभएन ।’

सर्कुलरमा उपमहासचिव शर्माले उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोपहरू लगाएको भनिएको छ । स्थायी समिति बैठकले पार्टी नेतृत्वका बिरुद्ध लगाइएका निराधार आरोपहरूलाई खारेज गर्दै प्रभाकरलाई कडा आलोचनासहित भविष्यमा त्यसप्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको बताइएको छ ।

Advertisement

अघिल्लो शुक्रबारदेखि आइतबारसम्म चलेको स्थायी समिति बैठकले आफ्ना भिन्न मत भए कमिटिमा विधिसम्मत छलफलको स्वतन्त्रता रहने विश्वास दिलाउँदै पार्टीलाई एकताबद्ध बनाई अगाडि बढ्न पनि जोड दिएको पनि सर्कुलरमा भनिएको छ ।