April 13, 2025, Sunday
२०८१ चैत्र ३१
1:37:26 pm

वर्तमान सरकारप्रति जनतामा आक्रोश र असन्तुष्टि छ: प्रचण्ड

385

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारप्रति जनतामा आक्रोश र असन्तुष्टि रहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले जाली फटाहाहरुले वर्तमान सरकार बनाइदिएकाले जनतामा आक्रोश र असन्तुष्टि चुलिएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘केही दलालहरु, नोकरशाहहरु, जाली फटाहाहरु र विचौलियाहरु आत्तिए, हामीले सुरु गरेको अभियानबाट । अपारदर्शी तरिकाले, अलोकतान्त्रिक तरिकाले अहिलेको सरकार बनेको छ । त्यसकारण जनतामा अहिले निकै ठूलो आक्रोश छ । असन्तु्ष्टि छ । सडकमा जनता विभिन्न रुपले आन्दोलनमा आइरहेकै छन् । शिक्षकहरु आन्दोलनमा छन्, डाक्टरहरु आन्दोलनमा छन्, नर्सहरु आन्दोलनमा छन् । सरकारमा भएभन्दा बाहिरका पार्टीहरु प्रायः सबै सडकमै छन् । यो परिस्थितिमा हामीले एकातिर देशको राष्ट्रिय एकतालाई सुदृढ गर्नुछ । राजनीतिक परिवर्तन जे भएका छन्, तिनको रक्षा पनि गर्नुछ । अझ अगाडि बढेर यसको परिमार्जन, विकसित गर्नुछ ।’

आफूहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहेको अध्यक्ष प्रचण्डको भनाइ थियो । उक्त प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो रहेको पनि उनको दाबी छ । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति यो देशलाई आवश्यक छ । संघीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो निर्वाचन प्रणाली पनि यो देशलाई आवश्यकता छ भनेर हामीले भनिराखेका छौं ।’

Advertisement