काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पार्टीले केही त्रुटि गरेका भन्दै अब गम्भीर आत्मसमीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको बताएका छन् ।
मंगलबार माओवादी केन्द्र म्याग्दीले बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामीले पार्टी एकता कायम राख्न सकेनौँ । हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौँ । म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौँ ।’
अध्यक्ष प्रचण्डले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए । उनले भने, ‘हिजो क्रान्तिको बेलामा जङ्गलमा होइन, जनताको काखमा थियौँ बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जङ्गलमा फसेजस्तो भयो । फेरि अब हामीले त्यो घेरा तोडेका छौँ । अब हामी जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डाका साथ अघि बढ्ने छौँ ।’
अहिले प्राप्त चेतना र जिम्मेवारीबोधसाथ २०६४ को जनमतबिच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइने प्रचण्डको विश्वास छ । ‘८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ । म अहिले यही अपिलका साथ देशव्यापी अभियानमा हिँडेको छु र अब चाँडै सिङ्गो पार्टी पङ्क्ति देशव्यापी अभियानमा जुट्ने छ’, प्रचण्डको भनाइ छ ।
आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै उनले सेटिङमा देश चलाउनेहरूका विरुद्ध धावा बोलिएको बताए ।