March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

मुक्कुम्लुङमा बर्बरतापूर्ण कार्य तत्काल नरोके अनिश्चितकालिन बन्द गर्ने यायोक्खाको चेतावनी

1K

काठमाडौं । किरात राई यायोक्खाले मुन्धुमी साँस्कृतिक थलो मुक्कुम्लुङको संरक्षणकर्ताहरु माथि ताकीताकी गोली हान्न बन्द गर्न अनुरोध गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै यायोख्खाले भनेको छ, ’त्यस पवित्र स्थलको पर्यावरण, वातावरण, प्राकृतिक सम्पदा र साँस्कृतिक धरोहरलाई बरकरार राख्नको निम्ती किरातीजनहरू तथा आदिवासी समुदायले विरोध गर्दागर्दै मुक्कुम्लुङ संरक्षणकर्ताहरुले शान्तीपूर्ण धर्ना र विरोध गर्दै आउने कम्मा हिजो मिति २०८१ माघ १२ गतेका दिन सशस्त्र प्रहरीले स्थानीयहरुको वासस्थानमै ढोका–झ्याल फुटाई संरक्षणकर्ताहरू माथि ताकीताकी गोली हान्ने कार्य गरेको साथै घाईतेहरुलाई बन्दुकले हिर्काउने र बुटले बजार्ने जस्ता बरबरतापूर्ण कार्यको यस संस्था घोर भत्र्सना गर्दछ। देशको सिमानाको सुरक्षा गर्न नसक्ने सशस्त्र प्रहरी बल र नेपाल सरकारको प्रधानमन्त्री र गृह मन्त्रीले देशको जनता माथि अमानवीय तथा क्रुर ढङ्गले आतङ्क मच्चाउने कुकार्यको घोर निन्दा गर्दछौं ।’

यस्तै, सशस्त्र प्रहरीको गोलीबाट घाईते भएकाहरुको निःशुल्क उपचारसहित तत्काल उच्चतम क्षतिपूर्ति दिन पनि यायोख्खाले माग गरेको छ । ’उक्त मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माण कार्य तुरुन्तै बन्द गरी जनताका रगतको प्यासी सशस्त्र प्रहरीको क्याम्पलाई तुरुन्तै हटाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्ने खबरदारी गर्दछौं। यदि बरबरतापूर्ण कुकार्य तत्काल नरोकेमा सशक्त आन्दोलनको घोषणा गर्दै प्रदेश नम्बर १ लाई अनिश्चितकालिन बन्द गर्ने खबरदारी गर्दछौं, अध्यक्ष जीवन हाताचो राई र महासचिव भिम राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Advertisement

ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्ने स्थानीय युवा र प्रहरीबीच झडप भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर चार जना प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरुको महाराजञ्जस्थित टिचिङ अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीले चलाएको गोली लागेर यामबहादुर लिम्बू र सगुन लावती गम्भीर घाइते भएका छन् । ‘लावतीको अवस्था निक्कै गम्भीर छ । उनको पिसावबाट निरन्तर रगत बगिरहेको छ । अर्का घाइते याम लिम्बुको तिग्राबाट गोली वारपार भएको छ । वहाँको पनि अवस्था गम्भिर नै छ । धर्मान पालुङ्वालाई बन्दुकको बटले हानेर कुम झारिदेको रहेछ । उनको पनि उपचार भइरहेको छ, घाइतेहरुसँगै अस्पतालमा रहेका कवि मुक्तान थेबाले जानकारी दिए ।

जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि राति नै विराटनगरको नोबेल मेडिकल कलेजमा ल्याइएको थियो ।