March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

पाथीभरामा केबलकार बनाउने योजना खारेज गर्न राजेन्द्र महतोको माग

500

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा केबलकार निर्माण योजना खारेज गर्न माग गरेका छन् । मुक्कुम्लुङ संरक्षणका लागि उत्रिएको समूहमाथि प्रहरीले दमन गरेकोमा उनले विरोध जनाएका हुन् ।

अध्यक्ष महतोले आज विज्ञप्ति जारी गर्दै प्रहरी दमनको भत्र्सना गरेका छन् । साथै उनले घाइतेहरुको शीघ्र उपचार र न्याय सुनिश्चित गर्न तथा आन्दोलनरत नागरिकहरूसँग वार्ता र संवाद मार्फत समस्या समाधान गर्न पनि माग गरेका छन् ।

‘यो स्थललाई कुनै नाफामुखी परियोजनाका लागि प्रयोग गर्न दिनु अस्वीकार्य छ । यसलाई प्राकृतिक स्वरूपमा संरक्षण गर्नु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ ।

Advertisement

ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्ने स्थानीय युवा र प्रहरीबीच झडप भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर चार जना प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ ।

प्रहरीले चलाएको गोली लागेर यामबहादुर लिम्बू र सगुन लावती गम्भीर घाइते छन् भने झडपकै क्रममा भिरबाट लडेका धर्मान पालुङ्वाको अवस्था पनि गम्भीर छ ।

अस्पताल स्रोतका अनुसार सगुन लावतीको छातीमा गोली लागेको छ । यामबहादुरको तिघ्रामा गोली लागेको छ भने पालुङ्वाको कुम (व्युटीबोन) भाँच्चिएको छ ।
जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि राति नै विराटनगरको नोबेल मेडिकल कलेजमा ल्याइएको थियो ।

सरकारले शान्तिपूर्ण आन्दोलनमा गोली चलाएर जनताको आवाज दबाउन खोजेको छ । पार्टीले पवित्र स्थलहरूको संरक्षण र जनताको आस्थाको सम्मान गर्न सरकारलाई आग्रह गर्दै विकासका नाममा सांस्कृतिक र प्राकृतिक सम्पदाको विनाश सह्य नहुने स्पष्ट पारेको छ ।