नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताएका छन् । आइतबार बिहान प्रेस सेन्टर नेपाल बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने अभिव्यक्ति दिएका ह’न् ।
अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ । हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं । संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ ।’
आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउन केन्द्रीय एजेण्डा हुने बताउदै उनले यसकै माध्यमबाट समाजवादमा पुग्न सकिने बताए । सबै क्षेत्रमा युवालाई साथमा लिएर नयाँ एजेण्डा पूरा गर्न सकिने उनको भनाइ थियो ।
उनले अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोच गरेको पनि बताए । आफूले पार्टीको नेतृत्व गरेको ३५/३६ वर्ष पुगिसकेको उल्लेख गर्दै उनले भने, ‘पार्टी नेतृत्व भनेको आन्दोलन र इतिहासको मूल्याङ्कनबाट तय हुन्छ, विधिबाट आउँछ, सधैँ म मात्र नेतृत्वमा बसिरहनुपर्छ भन्ने होइन, एउटा सिस्टम बनाएर उत्तराधिकारी तयार गर्ने विषयमा छलफल भइरहेको छ । पार्टीको आवश्यकता, साथीहरुको जोडबल र जनभावनाले गर्दा ३५/३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु ।’