काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल रिहा भएका छन्। उक्त मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका हुन्।
उनलाई गत मंसिर १५ गते नै उच्च अदालत पाटनले १५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर, धरौटी रकम बुझाउन नसक्दा रिजाल थप झन्डै एक महिना सुन्धारा कारागारमै रहेका थिए ।
रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
काठमाडौं जिल्ला अदालतमा यही आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई बिदाहरू परेका कारण बुधबार मात्रै रिहा गरिएको हो। अब उनी पुस २० गते काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ।