सन् १९९८ मा किशोरावस्था टेक्दानटेक्दै आइडी बनाउन हङकङ पुगेकी थिइन् कवि जूनु राना। भूपू गोर्खाको सन्तानको रुपमा हङकङमै बसोबास गर्न थालेकी राना युवा पुस्ताकी सशक्त कवि हुन् । उनको कवितामा विषेशत: उत्पिडन, सामाजिक विषमता र विसंगतिहरू र प्रेमभाव पाइन्छन् । उनी कविता अलवा समाजसेवामा समर्पित छन् । उनका विभिन्न साहित्यिक पत्रपत्रिका र वेबसाइटमा फुटकर कविताहरु प्रकाशित छन् । चाँडै नै आफ्नो पहिलो कवितासंग्रह ‘रातो नदी’ पाठकमाझ ल्याउने तयारीमा रहेकी कवि रानासँग नेपाल मामिलाका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत छ:
तपाइको हङकङ यात्रा कसरी तय भयो ? स्मरण साझा गर्नुहोस् न ?
– सन् १९९८ अक्टोबरमा पहिलोपटक आमाबाबासँगै हङकङको अन्तराष्ट्रिय विमानस्थलमा पाइला टेकेकी थिएँ । शिक्षक बाबा र भुपु लाहुरेको नातिनी हुँ । बाजे बेलायती सिपाही हुनुहुन्थ्यो । बेलायतले हङकङलाई उपनिवेस बनाएपछि यहाँ पनि गोर्खा सैनिकहरुको बाक्लो उपस्थिति रह्यो । सोही क्रममा गोर्खा सैनिकहरुको परिवार पनि हङकङ बस्ने व्यवस्था भयो । त्यस समयमा हङकङमा जन्मिएका ती गोर्खाहरुको सन्तति नै आज हङकङमा बस्ने पहिलो पुस्ता हुन्, जसमा मेरा आमाबाबा पनि पर्नुभयो। त्यहीँ हाँगा हुँदै म पनि यहाँ आएको हुँ ।
भनेपछि त किशोर अवस्था टेक्दानटेक्दै नेपाल छोड्नुभएछ, त्यतिबेलाको अनुभुति कस्तो रह्यो ?
– म आमाबाबा र भाईसँगै यहाँ आएकी थिएँ । तैपनि अत्यन्तै बिरानो, कैलै नदेखेको/नपढेको/नसोचेको शहरमा बस्नुपर्दा मनमा एक किसिमको ट्रमा जस्तो अनुभुती हुन्थ्यो । बिराना मान्छेहरुको बिरानो बोलिचाली, बेग्लै हाउभाउ, बेग्लै वातावरणमा भिज्न बडो सकसपूर्ण भयो । कतै नेपाली बोलेको सुन्दा/भेट्दा पनि नजिकको आफन्त भेटेको जस्तो आत्मियता महसुस हुन्थ्यो । आज सम्झन्छु त्यो किशोरमनमा देश र आफ्नो माटो छोड्नुपर्दाको वियोग मनमा गहिरिएर बसेको थियो ।
अहिले हङकङमा समाजसेवादेखि साहित्यमा पनि तपाइको सक्रियता बढी देखिन्छ, यसलाई देश छोड्दाको त्यो नोस्टाल्जियाको परिणाम भन्न मिल्ला ?
– त्यसो पनि होइन । हरेक मान्छेको आफ्नो देश हुन्छ । भाषा हुन्छ। आफ्नै किसिमका पहिचान र चिनारी हुन्छ । तर, सबैभन्दा महत्वपूर्ण पक्ष आफ्नो देशको प्रतिनिधित्व गर्ने भाषा हुन्छ । जुन भाषाको माध्यमबाट आफू भूगोलको जुनसुकै कुनामा पुगे पनि हुर्किएको परिवेश, आफ्नो संकृस्ति र पहिचानसँग जोडिन मिल्ने पहिलो कडी भाषा नै हो । त्यही भाषाको माध्यमबाट हामीले आफ्ना विचार, जिन्दगी बाँच्ने दृष्टिकोणहरूलाई शब्दमा उतार्न सक्छौं । भाषा र साहित्य एकअर्काका परिपूरक हुन् । तसर्थ देश छोड्नुको डा एकातिर राखेर आफ्नो भाषाको माध्यामबाट साहित्यमा जोडिन आईपुगेकी हुँ भन्ने मलाई सधैं लाग्छ ।
तपाइँ एक सशक्त कवि हुनुहुन्छ, सायद कवितासंग्रह पनि चाँडै ल्याउदै हुनुन्छ होला ?
– जिन्दगी भोग्ने क्रममा एक कालपछि मान्छेमा सामाजिक चेत र विवेकको विकास हुन्छ। त्यसपछि मान्छेमा आफू बसेको समाजप्रति आफ्नो उत्तरदायित्व महसुस हुँदै जान्छ । त्यसपछि नै व्यक्तिले सही र गलत चिजलाई छुट्याउन थाल्छ । समाज सधैं द्वन्द्वात्मक छ। यही द्वन्द्वलाई कुनै व्यक्तिले आफ्नो सृजनाबाट काव्यरुप दिनसक्छ भने त्यो कवि हो । यही बिचारलाई आत्मसात गर्दै लेख्ने कोसिस थालेको धेरै भो । अब यो लेखनलाई संग्रहको रुप दिनको लागि काम अगाडी बढाएको छु ।आशा छ अर्को बर्षको मध्यान्तरसम्म कवितासंग्रहले पूर्ण रुप लिनेछ ।
तपाईको विचारमा कवि कसरी भइने रहेछ ? तपाइँका कविताका बिम्बहरू कसरी निर्माण हुन्छन् ?
– उसो त म आफूलाई पुर्ण कवि मान्दिनँ। बरु आफूलाई कविता लेख्न निरन्तर सिकिरहेको या कविताको बाटोमा हिड्न कोसिस गरिरहेको एक यात्री मान्छु । यस मानेमा मेरो गन्तब्य कविता हो भने म त्यो गन्तव्यसम्म पुग्न हिँडिरहेको एक यात्री हुँ। र, अर्को पक्ष आफ्ना विचार र भावना अभिव्यक्त गर्ने माध्यम खोज्दै जाँदा कविता लेखियो । र, समाजमा देखिने राम्रा र नराम्रा पक्ष र प्रवृत्तिहरू अनि भावात्मक कुराहरूले आफै बिम्ब तयार गरे जस्तो लाग्छ ।
हङकङ चिनको विशेष प्रसाशनिक क्षेत्र हो, अन्य देशको तुलनामा यहाँ नेपालीहरूको जनसंख्याको घनत्व भने बढी नै छ। साहित्यक गतिविधि अझ बढी हुने गर्छ्न्, तर कतिको उपलब्धीमूलक हुने गर्छन् ?
– यहाँको नेपाली साहित्यको आफ्नै इतिहास छ । यहाँ हाम्रा गोर्खाली लाहुरेहरूको पालादेखि नै केही न केही साहित्यिक गतिविधिहरू हुँदै आएको पाइन्छ । यहाँ विभिन्न समयमा विविध साहित्यिक व्यक्तित्वहरूलाई निम्ताएर साहित्यिक कार्यक्रमहरू पनि भइरहन्छ । हङकङमा पूर्णकालिक लेखकदेखि अल्पकालिक धेरै कवि लेखकहरू छन् । मासिक कार्यक्रम ‘साझा श्रृंखला’ १२६ संस्करणसम्म आइपुगेको छ । यसले एक साझा साहित्यिक चौतारीको काम गरेको छ । अब उपलब्धिको कुरा गर्दा चाहीँ हामीले गुणात्मक साहित्यको के-कति विकास गर्यौं या यसबारे केके सोच्यौं त ? भन्ने प्रश्न मनमा आउँछ । यहाँ पुस्तक प्रकाशन हुन्छ, त्यसको विमोचन हुन्छ, तर चर्चा र समीक्षा हुँदैन । कार्यक्रमहरू हुन्छन्, तर कहिले अन्तरक्रिया हुँदैन । सबैलाई काम कै हतारो हुन्छ । चाचाँडो कविता सुनाएर निस्कने चलन पनि देखिन्छ । वाचित कविताहरूको समीक्षा एकदमै कम हुन्छ । यसरी हेर्दा लेखिनु या गतिविधि देखिनु मात्र साहित्यको विकास होइन । यसै पनि मूलधारकाहरूले विदेसमा रहेर लेखिने साहित्य र साहित्यकारहरूलाई स्तरहीन भन्दै आएको सन्दर्भमा हामीले आत्म समीक्षा र छलफल गर्नुपर्छ । आगामी दिनमा यी कुरालाई सोचिनु पर्छ भन्ने लाग्छ ।
हङकङवासी नेपालीहरूले नेपालका कलाकार, साहित्यकार लगायतलाई हङकङमा राम्रो आतिथ्यता गरेको देखिन्छ, यो देशप्रेम हो कि कला र साहित्यप्रतिको प्रेम हो ?
– हङकङवासी नेपालीहरूले उहिलेदेखि नै धेरै साहित्यकार र कलाकारहरूलाई ल्याउने र सत्कार गर्ने गरेका छन् । यो कला साहित्य प्रेम र देश प्रेम पनि हो । राम्रो कुरा पनि हो । तर, यसो भन्दै गर्दा सजिलो गरी ल्याउन सकिने, आउन सकिने कारणले हरकसैलाई ल्याउने या एकै कलाकार दोहोरिरहने प्रवृत्ति बढेर गयो । यसो हुदाँ सम्मानयोग्य कलाकार साहित्यकारहरू छुट्दै छन् कि ? कमैले सोचे जस्तो लाग्छ । अर्को कुरा जातिय, क्षेत्रीय र राजनैतिक सोचले पनि यहाँ आउने पाहुनाहरूको चयन हुन्छ जुन कुरा राम्रो होइन ।
तपाइको विचारमा कवि हुन कत्तिको चुनौतिपूर्ण छ ? कवितामा कविताको ‘तातोभुत्लो नभेटिने’ चर्चा जो छ ?
– राम्रो साहित्य लेख्न सक्ने चुनौती नै हर साहित्यकारको चुनौति हो । सिद्धांततः कवितामा केके नियम छन्, मलाई थाह छैन । तर कविता समाजलाई एक खुराक भएकोले यो स्वस्थ र सुपाच्य हुनपर्छ । मीठो हुनुपर्छ । उपयोगी पनि हुनुपर्छ । भावना पोख्ने लहड मात्र कविता हैन । कविताले पाठकलाई छुनुपर्छ । र, तपाईँले उठाउनुभएको कुरा केही समय अघि समालोचक खगेन्द्र संग्रौलाको एक लेखको प्रसङ्ग होला । वहाँको भनाइमा पूर्ण सहमत नहुँला तर यो खरो टिप्पणीले केही सोच्न बाध्य चै गराउँछ ।साहित्यिक बजारमा कतिपय कविताहरू लोकप्रियताकै लागि पनि आएका छन् । कवि हुने कुरालाई त्यति सजिलो गरी लिनुहुन्न भन्ने अर्थमा यो टिप्पणी ठीकै हो । तर, एक टिप्पणीकार नै सर्वेसर्वा नहुन सक्छ । एक समालोचकलाई लागेको कुरा अरुलाई अर्कै लाग्न पनि सक्छ ।
एकप्रकारले त्यो टिप्पणी सही नै थियो भन्ने हो?
– कवि हुन चाहने तर कविताको नाममा अकविता उत्पादन गर्ने प्रवृत्तिका लागि चाहीँ यो टिप्पणी जायज हो ।
तपाइँ आफूलाई चाहिँ कस्तो कवि हुँ भन्ने लाग्छ ?
– म साधारण कवि हुँ । विशेषतागत हिसाबले मेरा धेरै कविताहरू ‘फेमिनिस्ट’ बेसमै छन् । उत्पिडन, सामाजिक विषमताहरू र विसंगतिहरू अनि प्रेमभाव मेरो कवितामा पाइन्छ। कविहरूमा भावुकता पनि आवश्यक छ । भावुकताले नै समाजमा घट्ने घटनाहरुलाई छुन सक्ने हो । र, म भावुक कवि पनि हुँ । अरुको पीडालाई आफ्नै महसुस गरेर त्यो पीडा कवितामा उतार्न प्रयास गर्ने गरेको छु ।
नयाँ समकालीन कविहरुमा कसको कविता बढी पढ्न मन पराउनुहुन्छ ?
– अहिलेका पुस्ताका कवि लेखकहरु धेरै राम्रा छन्, जसले वर्तमान समय र घटना परिघटनाहरुलाई आफ्नो लेख एवम् कविताबाट प्रस्फुटन गर्दै आइरहेका छन्। यहाँ केही कवि हरुको नाम लिनुपर्दा कवि राजु स्याङ्तान, मौन आवाज, स्वप्निल स्मृति, सुमिना, निभा शाह , गिरि श्रीस , रोशन परियार, बिमला तुम्खेवा चन्द्रवीर तुम्बापो, जनक कार्की, सुरज राना लगायतका धेरै समयकालिन कविहरू प्रभावशाली कवि लाग्दछन् । अन्य धेरै कविहरुले राम्रो कविता लेख्दै आएका छन्।
हालसाल कसको कविता पढ्नुभयो ?
– अहिले नेपाली अनुवादको भारतीय कवि अमृता प्रीतमको केही कविताहरू पढेँ । कुलपति भुपाल राईज्यूको कवितासंग्रह ‘यारी’ र राजु स्याङ्तान कवितासंग्रह ‘ओ पेङदोर्जे’ लगायतका कविता पढेँ ।
अन्त्यमा, तपाईँको पाठक तथा शुभचिंतकहरूलाई के भन्नुहुन्छ ?
– आफ्नो विचार राख्ने मौका दिएकोमा नेपाल मामिला परिवारलाई धेरैधेरै धन्यवाद छ । म मेरा पाठक तथा शुभचिन्तकहरू माँझ चाँडै आफ्नो कवितासंग्रह ‘रातो नदी’ लिएर आउदैछु । सधैँ झै माया, हौसला र सुझाव दिइरहनुहुनेछ भन्नेमा विश्वस्त छु ।