काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० नेपालीको शव नेपाल ल्याउन तथा त्यहाँ अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि सकभर आजै नेपालबाट विमान पठाइने भएको छ । नेपाल वायु सेवा निगमले हवाई उडान अनुमतिका लागि पहल गरिरहेको र उडान अनुमति पाउनेबित्तिकै सकभर आजै विमान इजरायलतर्फ पठाउँने परराष्ट्रमन्त्री एनपी साउदले बताएका हुन् ।
शनिवार गाजानजिकै हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारका विधिविज्ञान निकायसँग समन्वय भई सकेसम्म चाँडो ल्याउनेगरी कार्यप्रक्रिया सुरु भएको जनाइएको छ । त्यसबारे मङ्गलवार अपराह्ण परराष्ट्रमन्त्री साउदले इजरेली समकक्षीसँग टेलिफोन कुराकानीसमेत गरेको थियो ।
इजरेली परराष्ट्रमन्त्री एली कोहेनले नेपालीहरूको शव फर्काउन र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलस्थित नेपाली राजदूतावासले इजरेली निकायले नेपालीको शव हस्तान्तरण गर्नेबित्तिकै स्वदेश फर्काउने गरी काम गरिरहेको जनाएको छ ।
त्यस्तै उद्धारको पर्खाइमा रहेकाहरूलाई पनि स्वदेश फर्काउने अन्तिम तयारी भइरहेको पनि जनाइएको छ । इजरेलमा रहेका र स्वदेश फर्कन चाहनेका लागि तेल अभिभस्थित नेपाली राजदूतावासले अनलाइनमार्फत् विवरण सङ्कलन गरिरहेको छ ।