काठमाडौं । नेपाल सरकारले इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको लडाइँका क्रममा मारिएका नेपालीका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ ‘तत्काल राहत स्वरूप उपलब्ध गराउने’ निर्णय गरेको छ । सोमवार अपराह्ण बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै मृतकप्रति सम्मान जनाउन आज ‘राष्ट्रिय शोक मनाउने’ निर्णय पनि गरेको बैठकले गरेको छ । सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार इजरायलमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरूका लागि आवश्यक प्रबन्ध मिलाउने पनि सरकारको निर्णय रहेको छ । नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सको जहाज चार्टर गरेर उनीहरूलाई ल्याउने प्रबन्ध मिलाउने निर्णय भएको शर्माको भनाइ छ ।
हमासले आक्रमण गरेपछि चर्किएको तनावका तनावका क्रममा अहिलेसम्म १० जना नेपालीको निधन भएको र चार जना घाइते भएको पुष्टि भइसकेको छ । त्यस्तै एक नेपाली नागरिक अझैं बेपत्ता रहेको नेपाली कूटनीतिक अधिकारीहरूले जानकारी दिएका छन् ।
मृतक र घाइतेहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत नेपालबाट इजरायल गएका थिए ।
।