April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

३२ बर्षमा विधवा भएकी मेरी आमाः खाली खुट्टा हिडिन्, तर एकल महिलाले पाउने कुनै सुविधा लिइनन्

गंगा खापुङ लिम्बु
२०८० भाद्र ३०

4.6K

संस्मरण

समयको अन्तराल र चेतनाको विकाससँगै एकल महिलाहरू समाजमा ससम्मान बाँच्ने वातावरण बन्दै गयो । अचेल उनीहरू क्रियाशील हुन्छन् । पहिले जसरी सेतो वस्त्रमा अपहेलित जीवन बाँच्नु पर्दैन । नियमसंगतका जुनसुकै कार्य गर्न छुट छ । पछिल्लो समय मानिसहरू आफ्नो दुःख बिर्साउन या तनाबबाट मुक्त हुन विशेष गरि सामाजिक सञ्जालको प्रयोग गर्ने गर्छन् । जीवनसाथी गुमाएपछिको पीडा कम गर्न एकल महिलाहरू पनि फेसबुक, टिकटक, इन्स्टा लगायतको सामाजिक संजालहरूमा सक्रिय हुने गर्छन् । सामाजिक संजालमार्फ नै अभियान चलाउछन्, अभिनय गर्छन् । जे होस् आफूलाई भुलाउछन् । मन छुने क्याप्सनहरू लेखेर सबैको ध्यानाकर्षण गराइरहेका हुन्छन् । एकल भए पनि संघर्ष गरेर अगाडि बढिरहेको प्रेरणादायी कुराहरू साझा गरिरहेका हुन्छन् । कतिपय नकारात्मक कमेन्टहरू आउने गर्छन्, ती बिगतका चरम पुरुषवाद र पितृसत्तात्मक सोचका अवशेषहरू हुन् ।

वास्तवमा एकल भएर जिउन त्यति सजिलो हुँदैन । एकल जीवन कति कठिन हुन्छ, त्यो मैले आफ्नै आमाको भोगाइ पढेको छु । मलाई याद छ, २०४९ साल अर्थात् ३२ बर्षको उमेरमा मेरी आमा विधुवा हुनुभयो । श्रीमती र छोराछोरीको सुख किन्न रोजगारीको सिलसिलामा साउदी पुग्नुभएको मेरो बुबाको सपना उतै विलीन भयो । बाकसमा सुतेर आउनुभएको बुबासँग आमाले कसरी साक्षातकार गर्नुभयो होला ? बाकसबाट शव झिकेर पशुपति आर्यघाटमा दनदनी जलेको कसरी हेर्न सक्नु भयो ? सायद पीडा दबाएर छोराराछोरीको उज्वल भविश्यको चिन्ता लिनु आमाको साहस नै थियो ।

५० को दशकमा हिन्दु महिलाहरूले विधुवा भएर बाँच्नु शून्य हुनु नै थियो । अभिशाप थियो । मुन्धुमी समुदायमा एकल महिला हुनुलाई अभिषापको रुपमा लिइन्नथ्यो । तर, सजिलो भने थिएन । त्यतिबेला छिमेकी, साथीभाई तथा नातेदारहरूबाट हौसला पाउनु पर्ने हो, तर सट्टामा मेरी आमाको कुरा काटेर, हतोत्साहित बनाउने किसिमका क्रियाकलापहरू गरेको यादहरू अझै ताजै छ । आमाको आँखा ओबाएकै थिएन, आफ्नै नजिकका आफन्तले हामीतर्फ हेर्दै भने– ’विचरा…! कान्छा बाउको हातमा पर्ने भए, बेस्सरी दुःख पाउने भयौ !’

Advertisement

बुबा बित्नुभएपछि मेरी आमाले सबैभन्दा धेरै माईतीको अभाव महसुस गरेको पाउथेँ । सायद त्यतिबेला आमा घरतर्फका आफन्तहरूले हेलाहोचो गर्दा माईतीतिरका कोही आइदिए हुन्थ्यो, मनको वह पोख्न पाए हुन्थ्यो भन्ने सोच्नुहुन्थ्यो होला ! तर, एकैपटक माईतीहरू भेट्न आएको मेरो स्मरणमा छैन ।

दुई छोरा र दुई छोरी जम्मा ४ सन्तान थियौं । हामीलाई हुर्काउन, पढाउन आमालाई गाह्रो भयो । जेठा दाजुले १४ बर्षको उमेरदेखि आमाको जिम्मेवारीको हिस्सा बन्न पुग्यो, जसले गर्दा आमालाई हिम्मत बढेको थियो । दाजु सबैभन्दा जेठो सन्तान भएकोले जिम्मेवारी बाँड्न बाध्य हुनुभयो भने म सबैभन्दा कान्छी छोरी भएकोले आमाको नजिक भएँ । नजिकबाट वहाँको पीडा महसुस गर्न पाएँ । अरू दुईजना दाजु र दिदीले चाहिँ खासै बुझ्न सकेनन् । जेठो दाजुका कारण आमाले कसैसँग हार मान्नुभएन । ‘जसले जस्तो व्यवहार गर्छ, उसलाई त्यस्तै व्यवहार गर्नु । आफूलाई कमजोर नबनाउनु’, आमा भन्नुहुन्थ्यो । गर्वको विषय त आमाले एकल हुँ भनेर कसैसँग सहाभुति बटुल्न चाहनु भएन । एकल महिलाले पाउने सुविधा केही लिनुभएन । कसैसँग सहयोगको याचना गर्नुभएन । हामीले अभाव भोग्यौं । आमाको संघर्ष र दुःख र पीडा बुझ्यौं । आफ्नो लागि आफैले गर्नुपर्छ भन्ने शिक्षा आमाको व्यवहारबाट सिक्यौं। मेरा दाजुहरूले कुचो लाउने, घर पोत्ने, भान्साको काम सबै जान्नुहुन्थ्यो । हामी दिदिबहिनीले हलो जोत्न खेतबारीको काम गर्न सबै जानेका थियौं । त्यो सबै हाम्री आमाले दिनुभएको शिक्षा थियो । छोराछोरी दुबै बराबरी हुन् भन्ने कुरालाई मेरी आमाले हामीमा लागू गराउनु भएको थियो । बुबा बित्नुभएको करिब ३ बर्ष पछि नै आमाले हामीलाई पहाडबाट मधेस झार्नुभयो । हाम्रो पढाइमा जोड दिनुभयो । त्यतिबेला हामी सबैले एसएलसी पास गरौं भन्ने आमाको सपना थियो, जुन पूरा भयो ।

आजकल एकल महिलालाई सरकारले सुरक्षा भत्ता दिन्छ । रोजगारीमा प्राथमिकता दिन्छ । सामाजिक सञ्जालमा कुनै एकल महिलाको दुःखको भिडियो पोष्ट हुने बित्तिकै वास्तविकता नबुझि सहयोग गर्नेहरूको ओइरो लाग्छ । तर, मेरी आमाले एक्लै संघर्ष गर्दाको समय कम्ति पिडादायी थिएन । बिना चप्पल खालीखुट्टा हिँड्नु, कुनै भोजभतेर या हाटबजार जानलाई राम्रो कपडा नहुनु, छोराछोरीको हातमुख जोड्न दौडधुप गर्नु । दुःखहरू कति सहनु भयो कति । तर, म विस्वस्त छु कि, यदि त्यो समय आज जस्तो सामाजिक सञ्जाल भएको भए पनि मेरी आमाले सहयोगको याचना गर्नु हुन्थेन । ‘आफ्नो खुट्टामा आफै उभिनुपर्छ, अरूको सहारामा बाँच्नु उनीहरूको गुलाम बन्नु हो’ भन्ने बिचारधारा भएको मेरी आमाले कसैको सहारा बिना एक्लै संघर्ष गर्नुभएको हो ।

आमाको रिस एकदम कडा थियो । सानो–सानो कुरामा पनि पिटाई खान्थ्यौं । एकजनाले गल्ति गर्याे भने हामी चारैजना छोराछोरीले पिटाई खानुपर्थ्यो । समयमा उठ्नुपर्ने, समयमै काम सक्नुपर्ने हुन्थ्यो । सायद जीवनमा अनेक हण्डर खाएर होला आमा कठोर हुनुभएको !

अरुको नजरमा मेरी आमा त्यतिबेला असाध्यै भाग्यमानी लाग्थिन् , जतिबेला बाबा विदेशबाट पैसा कमाएर गाउँ आइपुग्नुहुन्थ्यो । गाउँलेहरू कुखुरा, रक्सी लगायत बारीमा जे फलेको÷पाकेको छ, लिएर बाबालाई भेट्न आउथे । आमालाई ‘मालिक्नी’ सम्बोधन गर्दै नमस्कार गर्थे । बाहुन, क्षेत्री, दलित, लिम्बुहरू सबै आउथे । बाबाले बिदेशबाट ल्याउनुभएको सेन्ट (पर्फ्युम), तावल, कपडा, टोपी, मोतिमाला अनि कसैले रक्सीको खोलमात्रै पनि लिएर जान्थे । गाउँमा बिदेश जाने पहिलो व्यक्ति हाम्रो बाबा हुनाले आमा अरपेनी नामले परिचित भईन् । तर, त्यतिबेला संसारकै अभागी महिला भईन् जब बुबाको मृत्युको खबर आयो । गाउँभर खबर फैलियो । आमालाई हेर्ने दृष्टिकोण बदलियो । आफन्तले आलो घाउमा नुनचुक भरिदिने काम गरे । बुबाको लास ६ महिनासम्म नआउदा मेरी मेरी आमाको मनमा के बित्यो होला ? आफूलाई कसरी सम्हालिन् होला ? आफन्तले खासै बुझ्ने मोसिस गरेनन् । उल्टै ‘अलच्छिन’ भन्दै झगडा गर्न पछि परेनन् ।

लेकको ठाउँमा हामी बस्थ्यौं । बाजेबोजुहरू बेसीमा बस्नुहुन्थ्यो । केही समय हामी अलपत्र पनि प¥यौं । तर, आमाको हिम्मतलाई मान्नैपर्छ । म आमासँगै हुन्थे त्यही भएर मैले आमाको प्रत्येक पलहरू देखिरहेँ । मेरी आमालाई जो–जसले नराम्रो व्यवहार गरे उनीहरूलाई नियालीरहेँ । सायद त्यही भएर होला आजसम्म मैले ती पीडादायी क्षणहरू बिर्सन सकेको छैन ।

आमाले हार मान्नुभएन । धेरै संघर्षपछि हामीलाई मधेसतिर झार्नुभयो । त्यो समयमा पहाडबाट मधेस बसाइँसराइ गर्नु ठूलो कुरा हुन्थ्यो । जो कोहिले आँट गर्न सक्दैनन् थिए । आफन्तहरूले नै आमालाई शंकाको दृष्टिकोणले नहेरेका होइनन् । उमेर अझै बाँकी छ, छोराछोरीहरू बिचल्ली पार्छे होला ! भनेर नभनेका पनि होईनन् । ईखालु स्वभावकी आमाले अरूले गरेको नकारात्मक व्यवहार र टिप्पणीलाई उर्जाको रूपमा लिनुभयो । हामीलाई आफ्नो सपना बनाउनुभयो । हामीलाई आत्मनिर्भर बनाउनकै लागि कडा शासन लागू गर्नुभएको जस्तो लाग्छ ।

हामी चारैजनाले एसएलसी पास गरिसकेपछि आमाले उच्च शिक्षाको लागि काठमाडौं पठाउनुभयो । काठमाडौंमा हाम्रो व्यवस्थापनको लागि ठूलो दाजुले मेहेनत गर्नुभएको थियो । कहिले सब्जी पसल गर्नुभयो त कहिले किराना पसल । व्यापारमा सफल नभएपछि विदेश जानुभयो । दाजु विदेश जानुभएपछि आमा पनि काठमाडौं आउनुभयो । हाम्रो लागि एकदम दुःख कष्ट गरिसक्नुभएको हुनाले आमालाई हेर्ने हाम्रो दायित्व थियो । जेठो दाजुले विवाह गरेर भाउजुलाई पनि आफूसँगै विदेश लैजानुभयो । दुईजनाको कमाई राम्रै थियो । कान्छा दाजु पनि साहित्य र पत्रकारितामा आफूलाई स्थापित गराइसक्नुभएको थियो । मैले विभिन्न पत्रिकाहरूमा डिजाईनरको रूपमा काम गर्दै पत्रकारितामा अघि बढ्दै थिएँ । दिदीले पनि आफ्नो लागि आफै केही गरिरहनुभएको थियो । त्यतिबेला आमालाई खुब घुम्न मनपर्थ्यो । काठमाडौंको कुनाकाप्चा घुम्नुभयो । सेमिनार, गोष्ठी सबैमा सहभागी हुनुभयो । महँगा होटलहरूमा खाना खानुको अनुभव लिनुभयो । माईतीहरूबाट महँगो साडी, कपडाहरू उपहार पाउनुभयो । भारत घुम्ने चाहना पनि पूरा भयो । विडम्बना जब आरामको श्वास फेर्ने समय आयो, तब आमाको मुटुमा समस्या आयो । यही रोगले ५० बर्षको उमेरमै स्वर्गवास हुनुभयो ।

आजभोली एकल महिलाहरूले संघर्ष गरेर छोराछोरीहरूको भविष्य बनाईरहेको देख्दा मेरै आमाको झल्को आउने गर्छ । उनीहरूलाई देख्दा गर्व लागेर आउँछ । एकल हुनु पाप होईन, तर एकल हुनकै कारण सधैं अरुको सहयोगको अपेक्षा गर्नु भने अनुचित हो जस्तो लाग्छ । आवश्यकता भन्दा विलासितातर्फ लम्किरहेको पछिल्लो परिवेशमा एकल महिलाहरूलाई गाह्रो त अवश्य हुन्छ, तर आफूलाई कमजोर बनाएर, अवला बनाएर हैन साहसका साथ आफ्नै खुट्टामा सम्मानित रुपले उभिन सक्नुपर्छ, हाम्री आमा जसरी ।