काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनाको सम्बन्धमा छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुधबार सर्वोच्च अदालतले टीकापुर घटनाको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजानिक गरेपछि चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।
सर्वोच्चको पूर्णपाठमा राष्ट्रपतिबाट आम माफी पाएका रेशम चौधरीको रिहाको विषयमाथि गम्भीर प्रश्न उठाइएको छ । पूर्णपाठमा रेशम चौधरीकै नेतृत्वमा टीकापुर घटना भएको उल्लेख गरिएको छ ।
सर्वोच्चले उक्त पूर्णपाठ सार्वजनिक गरेपछि रेशमले भने लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उक्त प्रतिवेदन सार्वजानिक नगरे सडक, सदन र सरकारमा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । अब प्रतिवेदन सार्वजनिक नगरे हामी सडक, सदन, सरकारको साथै सबै प्रकारको आन्दोलन गर्न बाध्य हुनेछौं ।’