काठमाडौं । रेशम चौधरीमाथिको जन्मकैदमाथि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहालाई सर्वोच्च अदालतले नै गम्भीर प्रश्न उठाएको छ । उनी नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद हुन् ।
सर्वोच्च अदालतले बहुचर्चित टीकापुर घटनासम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै त्यसलाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको हो ।
सर्वोच्च अदालतले व्याख्यामा भनेको छ, ‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्का रहित तवरले पुष्टि हुन आयो ।’
सर्वोच्च अदालतको यो फैसलाले रेशम चौधरीमाथिको माफीमिनाहा बदर हुने अवस्था हुनसक्ने कानुनव्यावसायीहरू बताउछन् ।