काठमाडौं । गोरखामा जन्ती लिएर फर्किएको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। गोरखाको मनकामनाबाट फर्किएको सहिद लखन गाउँपालिका ३ मा ०१–०२३ च ४४२७ नम्बरको जीप दुर्घटना भएको हो ।
शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति १ बजेतिर दुर्घटना भएको हो । बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएकोमा एउटा गाडी दुर्घटनामा परेको हो । गाडी बेहुलीको घरदेखि करिब तीन/चार सय मिटर पर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरूको उद्धार गरी उपचारका लागि तनहुँ पठाइएको छ ।
दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले उद्धार गरिरहेको छ । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।