काठमाडौं । अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी हुन नचाहे नेपालले पत्राचार गरेर रद्द गर्न सक्ने प्रष्ट पारेको छ । एसपीपी बारे विवाद चुलिइरहदा बिहीबार काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलरले यस्तो बताएका हुन् ।
बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘कुनै देशले अमेरिकालाई उनीहरू अब कार्यक्रम (एसपीपी) मा भाग लिन चाहदैनन् भनी जानकारी दिन सक्छ । एसपीपी कार्यक्रममा रहेका लगभग ९० देशमध्ये बेलारुसले मात्र कार्यक्रममा आफ्नो सहभागिता समाप्त गरेको छ ।’
यस्तै उनले सन् २०१५ मा नेपालले कार्यक्रममा सहभागी हुन पहिलो पटक र २०१७ मा पुनः कार्यक्रममा सहभागी हुन दोस्रो पटक अनुरोध गरेपछि सन् २०१९ मा अमेरिकाले नेपालको सहभागिता सुनिश्चित गरेको बताएका थिए ।
उनले ती अनुरोधमा कार्यक्रममार्फत नेपालका नागरिक, सरकारी र सैन्य नेताहरू, सुरक्षा सहयोग र आदानप्रदान, र मानवीय सहायता र विपद् पूर्वतयारीमा केन्द्रित कार्यक्रमको खुला रूपमा फाइदा लिन खोजेको पनि बताएका छन् ।
अमेरिकाले एसपीपी अन्तरगत नेपाली सेनाले अमेरिकी युटा राज्यको नेशनल गार्डसँग सहकार्य गर्ने उल्लेख छ । ‘एसपीपी कार्यक्रममा भाग लिनको लागि नेपालको अनुरोधमा सहमति जनाएदेखि हामीले सम्भावित मानवीय सहायता र विपद् राहत पूर्वतयारी गतिविधिहरू समावेश गर्न यो कार्यक्रम अन्तर्गत सहकारी आदान–प्रदानहरू कस्तो देखिन सक्छन् भन्नेमा सहकार्य गर्न नेपाली नेताहरूसँग खुला संवाद जारी राखेका छौं,’ उपप्रमुख मिकलरले भनेका छन् ।
उनले एसपीपी अन्तर्गन कुनै भएका कार्यहरु नभएको पनि बताए । उनले भने,‘एसपीपी अन्तर्गतका कुनै पनि कामहरु नेपालको स्वीकृतिमा मात्र हुनेछन् ।’