April 17, 2025, Thursday
२०८२ बैशाख ४
1:37:26 pm

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विशेष भेटवार्ता

2.1K

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विशेष भेटवार्ता भएको छ ।भारतको तीन दिने औपचारिक भ्रमणका लागि दिल्लीमा रहेका देउवा र मोदीबीच हैदरावाद हाउसमा शनिबार करिब पौनै घन्टा लामो विशेष भेटवार्ता भएको हो ।

भेटमा दुवै सरकार प्रमुखहरू द्विपक्षीय सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउन र सहकार्यलाई फराकिलो बनाउन सहमत भएका हुन् ।

नेपाल भारतबीच अल्झिएका विषयलाई आपसी विश्वास र हितका आधारमा समाधान खोज्दै दुई पक्षीय सम्बन्ध र सहयोगलाई थप बलियो बनाउने सहमति भएको छ । दुई प्रधानमन्त्रीबीच मात्रको प्रत्यक्ष वार्तापछि दुवै देशका प्रतिनिधिमण्डलबीच पनि सामूहिक छलफल भएको थियो ।
हैदरावाद भेटवार्ता र प्रतिनिधिमण्डलबीचको छलफलपछि आयोजित पत्रकार सम्मेलनलाई दुवै प्रधानमन्त्रीहरूले संयुक्त रूपमा सम्बोधन गरेका थिए । हैदरावाद वार्तामा प्रधानमन्त्री देउवाले सीमा समस्याका समाधानका लागि संयुक्त संयन्त्रको प्रस्ताव गरेका थिए र त्यसमा मोदीले सकारात्मक प्रतिक्रिया जनाएका थिए ।

Advertisement

दुई प्रधानमन्त्रीबीचको वार्ता सीमा समाधान, सुरक्षा चासो, ऊर्जा विकासको साझेदारी र सहकार्य एवं आर्थिक विकासका लागि सम्पर्क सञ्जाल बढाउने विषयमा केन्द्रित थियो ।

शीर्ष वार्तापछि हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले पारस्परिक हितलाई ध्यानमा राख्दै सहयोग र सहकार्यलाई विस्तार गर्ने सम्बन्धमा समकक्षी भारतका प्रधानमन्त्री मोदीसँग सकारात्मक छलफल भएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।