April 13, 2025, Sunday
२०८२ बैशाख १
1:37:26 pm

नेपाली जनसम्पर्क समिति बेलायतको पाँचौ क्षेत्रीय अधिवेशन सम्पन्न

3.9K

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको पाँचौ क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । शनिबार बेलायतको केन्टमा सम्पन्न अधिवेशनले चिरन राईलाई सभापतिमा निर्विरोध चयन गरेको छ ।

केन्ट समितिको उपसभापतिमा सन्देश राई, महामन्त्रीमा सन्तराज राई, सहमहामन्त्रीमा राजेश गुरुङ, कोषाध्यक्षमा अर्जुन राई निर्वाचित भएका छन् । यस्तै समितिको सदस्यहरुमा धिरज लिम्बु, खगेन्द्र तामाङ, अनमोल लिम्बु, विक्रम लिम्बु, विक्रम राई र पूर्णबहादुर लिम्बु निर्वाचित भएका छन् ।

केन्टका निवर्तमान क्षत्रीय सभापति किरण राईको सभापतित्व तथा प्रतिनिधिसभा सदस्य खम्बिर गर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा विशेष अतिथिको रुपमा नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, पूर्व सभापति विनोद मोक्तान, नेसाका अध्यक्ष केस गुरुङ, महासमिति सदस्य कुमारी गुरुङ, उपसभापतिहरू रिचर्ड गुरुङ र सुवास राई, महाधिवेशन प्रतिनिधि तथा महामन्त्री इनद्रहाङ लिङ्देन, महामन्त्री नोर्बु शेर्पा तथा सहमहामन्त्रीहरुको उपस्थिति थियो । यसैगरी सल्लाहकार राष्ट्रिय राई, एनआरएनए बेलयतको महिला संयोजक रोजिना गुरुङको पनि उपस्थिति थियो ।

Advertisement

अधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सांसद गर्बुजाले अहिलेको युवाहरुलाई डेमोक्रेटको बाटो नछोड्न आग्रह गरे । उनले भने, ‘युवाहरु जोस जाँगरका साथ यहाँ उपस्थित भएको देखेँ, एकदम गौरब लागेको छ । तपाइँहरुले सही बाटो पहिल्याइसक्नुभएको छ । यो बाटो नछोड्नोस् ।’


यस्तै उनले गोर्खाहरुको समस्याबारे आफू चिन्तित भएको पनि बताए । आफू पनि भुपू गोर्खा भएको उल्लेख गर्दै उनले भने, ‘भुपू गार्खाहरुको विषयमा विभिन्न समस्याहरु उत्पन्न भइरहेको छ, त्यो पुरानै रोग हो । अहिले नजिक–नजिक आइरहेको छ भन्ने बुझेको छु । म एउटा भुपू गोर्खा भएको कारण पनि यो विषयमा तपाइँहरुलाई जत्ति चिन्ता छ, त्यो भन्दा धेरै मलाई पनि छ । एक नम्बरमा पेन्सन, दोस्रो नागरिकता र तेस्रो समस्याको समाधान बारे ।’

उनले यस समस्याको समाधान नेपाली कांग्रेस पार्टीले मात्रै गर्न सक्ने दाबी गर्दै यी समस्याका विषयहरुलाई अब आउने कांग्रेस संसदीय दलको छलफलमा राख्ने आश्वासन पनि दिए ।

कार्यक्रमको संचालन नेपाली जनसम्पर्क समितिका सदस्य भिम राईले गरेका थिए।