काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई गाली गर्न अरबौं खर्चिएको बताएका छन् । शनिबार सिन्धुलीमा माओवादी पार्टी कार्यालय भवन उदघाटन गर्दै दाहालले आफूमाथि गाली गलौजका लागि मात्र अरबौं खर्च भइरहेको आरोप लगाएका हुन् ।
दाहालले भने, ‘प्रतिक्रियावादीले अनेक गीतबाट गाली गरेर हुन्छ कि पत्रिकाबाट । प्रचण्डको विरोध नगरेको पत्रिका देख्नुहुन्छ आजभोलि ? प्रचण्डको विरोध नगरेका पत्रिका हुँदैनन् सोसल मिडिया हुँदैनन् टीभी हुँदैनन् । यति धेरै गालीगलौज बाहिर हजारौं, लाखौं करोडौ अरबौं खर्च भएछन् ।’
त्यस्तै, आफूलाई विचलित बनाउन खोजिएको दाहालले टिप्पणी गरे । त्यसपछि आत्तिएला कि प्रचण्ड भन्ने धेरै ठूल्ठूला षड्यन्त्र भएको छ ।’, उनले भने ।
उनले माओवादीविरुद्ध भएका षड्यन्त्रलाई असफल बनाउने बताए । सबै किसिमका षड्यन्त्रलाई असफल बनाएर माओवादीले परिवर्तन ल्याएको उनको भनाई थियो । माओवादीलाई बदनाम गर्ने, षड्यन्त्र गर्ने, चिथोर्ने, कोपर्ने ठूलै षड्यन्त्र भइरहेको छ । आफूलाई विचलित बनाउन यसो गरिएको भन्दै कदापि नआत्तिने र विचलित नहुने बताए ।
त्यस्तै, माओवादीले नै अहिलेको परिवर्तन ल्याएको दाबी गर्दै निर्वाचनमा माओवादीले जित्नैपर्ने प्रचण्डको भनाई थियो । ‘जस्ले परिवर्तन ल्यायो उसले हार्नुपर्ने पनि चुनाव हुन्छ ?’, उनले भने । जनयुद्धमा जस्तो आफ्नो पार्टीमा कम्प्याक्ट संगठन नभएको बताए । तर, दुई महिनामै कायापलट ल्याउन सक्ने दाबी गरे । उनले भने, ‘जनयुद्धको जस्तो कम्प्याक्ट संगठन छैन । बस्नुस् भन्दा बस्नुुहुन्थ्यो । उठ्नुस् भन्दा उठनुहुन्थ्यो । बन्दुक राख्नुहोस् भन्दा राख्नुहुन्थ्यो । अहिले त्यस्तो कम्प्याक्ट संगठन छैन तर दुई महिनामा कायापलट गर्न सकिन्छ ।’




