दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोनाबाट रोजगार गुमाई बेरोजगार भएकाहरुलाई नेपालमै रोजगारी दिन पहल गरिने बताएका छन् । बेरोजगार युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि कार्यक्रम बनाइने उनको भनाइ छ ।
नेपाल संवत् ११४२ को अवसरमा नेवाः देय दबु गुठी समन्वय समितिद्वारा आज दमौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘बेरोजगारलाई रोजगारी सिर्जना गर्न चुनौती छ, त्यो चुनौतीलाई चिर्दै अगाडि बढ्छु ।’, मन्त्री श्रेष्ठले भने ।
उनले सबै जातजातिको भाषा, संस्कृति संरक्षण गर्ने दायित्व सरकारको भएको पनि बताए । संस्कार र संस्कृति संरक्षण भावी पिँढीमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘अहिलेका पुस्ताले भावी पुस्तालाई नेवार जातिको संस्कृति, संस्कार सिकाउँदै जानुपर्छ । तब मात्र संस्कृतिको संरक्षण हुन्छ ।’