October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

राप्तीका मेयरको दुई बर्ष : अबरोध छिचोल्दै उल्लेख्य उपलब्धि

3.5K

राप्ती । चितवनको राप्ती नगरपालिकामा मेयर शमशेर लामाले नेतृत्व गरेको दुई बर्ष पुरा भएको छ । दुई ठुला दल नेपाली काँग्रेस र एमालेका जनप्रतिनिधिहरुको अबरोध छिचोल्दै नगरको विकासमा उपलब्धि हासिल गरेको उनको दावी छ। उनले नेतृत्व सुरु गरेपछि नगरको मुहार फेरिन सुरु भएको उनको भनाई छ ।

उनले विकास निर्माण र नगरबासीको चाहना साथै गरिबी निबारणलाई प्राथमिकता दिएर काम गरेको, नगरबासीको आधारभूत आवश्यकता पुरा गरी विकासका काम अगाडि बढाएको, नगरको भौगोलिक अवस्था र यसको आधारमा जनताको प्राथमिकता र आवश्यकता पहिचान गरी त्यसको समाधानमा लागि प्रयासरत रहेको, नगरको शिक्षा र स्वास्थ्यमा चित्त बुझ्दो परिवर्तन गरेको, निःशुल्क शिक्षा र स्वास्थ्यको अवधारणा कार्यान्वयन गरेको बताएका छन् ।

राप्तीका जनताले अहिले पढ्न पैसा तिर्नु पदैन । स्वास्थ्य सेवा समेत सहज भएको छ । आफ्नो कार्यकालमा उनले विपन्न घर बनाउने घोषणा गरे । उनले ५०५ घर बनाउने प्रतिवद्धता अनुरुप काम गरिरहेका छन् । तर राप्तीमा राजनीतिक द्धन्द र टकरावले जनताले विकासको पर्याप्त प्रयोग गर्न पाएका छैनन् । मेयर र उपमेयरको कार्यकक्षामा जनप्रतिनिधिले नै लगाएको ताला तीन महिना सम्म खुल्न सकेको छैन् । सोही कारणले विकासमा ढिलाई भएको छ । जनप्रतिनिधि बीचको अनावश्यक द्धन्दले गर्दा दुई बर्षमा सोचे जस्तो काम गर्न नसकेको उनले बताए ।

Advertisement

अबरोधका बीच मेयर लामाले सीमान्तकृत चेपाङ समुदायलाई आवास निर्माणदेखि उनीहरुको जीवन स्तर उकास्ने गरी पालिकाको योजनालाई विकटमा उकालेका छन् । घन्टौ हिड्नुपर्ने कान्देलीको लागि, सुत्केरीको पीडामा तड्पिएका वासवाङका महिलाहरुको लागि, छाना नभएकाहरुका लागि, भोकाएकाहरुको भोक मेटाउनकै लागि शमशेर लामाले योजनालाई पहाड केन्द्रीत गरेका हुन् ।

‘६५ प्रतिशत भुभाग विकट रहेको राप्ती नगरपालिकाको मुहार एकैपकट फेर्न मुश्किल छ’, उनले भने, ‘चुड्कीमै समृद्ध नगरको खाका कहाँ कोर्न सकिन्छ ? जनताको मत पाएपछि भोकाएकाहरुको भोक मेट्नु पर्छ ।’

मेयर लामा विकटका बस्तीहरुमा पुग्ने गरेका छन् । विकटमा जाँदा उनी रित्तो हात जाँदैनन्, नाना, छाना र खाना लिएर उनी बस्तीमा पुग्ने पहिलो मेयर हुन् । आत्मनिर्भर जनताको परिकल्पनासहित मेयर लामाले आफ्नो दोस्रो कार्यकाल बर्ष पुरा गरेका छन् । ‘म आफै राप्तीमा जन्मिएर यही हुर्किएर अहिले राप्तीकै नेतृत्व गरिरहेको छु’, उनले भने । अध्ययनको क्रममा केही समय म नगर भन्दा वाहिर रहेता पनि आफ्नै क्षेत्रमा केही गर्ने उद्देश्यले राजनीतिको माध्यमबाट जनताको सेवामा लागि परेको उनको भनाई छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं ४ को अध्यक्ष र २०७९ जेठ को निर्वाचमा मेयर भएका उनी ओडारमा बस्ने चेपाङदेखि आलिसान महलमा बस्नेसम्मका व्यक्तिको हकहितका लागि लागिपर्छन् । बस्ने वास नभएका, खाने गाँस नभएका जनताको नेतृत्व गर्नु उनको लागि कम चुनौतीपूर्ण थिएन । आधा जनतालाई छिटो विकास चाहिएको थियो । सडक निर्माण, खानेपानी, यातायात र विद्धुतको पहुँच पुगोस् भन्ने थियो । दुई बर्षको अवधिमा मेयर लामाले ३ सय २५ विपन्न परिवारको लागि आवास निर्माण गरेका छन् । शिक्षाका परिर्वतन ल्याउन उनले ठुलै कसरत गरे । राप्तीका ४९ सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा अन्तर्गत हरेक बर्ष १३ हजार विद्यार्थीले निःशुल्क अध्ययन गरिरहेका छन् ।

विकट क्षेत्रमा आवसीय विद्यालय सञ्चालनको लागि तयारी गरिएको छ । स्वास्थ्यमा नगरवासीलाई निःशुल्क एम्बुलेन्स, विरामीलाई निःशुल्क रगत, १० हजारको निःशुल्क स्वास्थ्य बिमा, हरेक हप्ता घरघरमा निःशुल्क स्वास्थ्य परीक्षण, कान्दामा स्वास्थ्य केन्द्र, वासवाङ्गमा वर्थिङ्ग सेन्टर सुरु गरिएको छ । नमुना कान्दाको अभियान अन्तर्गत सडक विस्तार, वडा नं १३ मा टेलिकमको पहँुच, कान्दामा फोर जि इन्टरनेट सेवा विस्तार, विकटमा पिसानी मिलको व्यवस्था गरी दैनिक जीवनयापनलाई सहज बनाएको मेयर लामाले बताए ।

कृषि तर्फ कृषि एम्वुलेन्स खरिद, उत्पादनलाइ सहजीकरण, सिंचाइको लागि स्यालो बोरिङ्ग वितरण, बेमौसमी तरकारीलाई प्रोत्साहन र टनेलको व्यवस्था, ८० प्रतिशत लागत साझेदारीमा मिनी टिलर र धान काट्ने रिपर अनुदानमा वितरण, मौरीमा अनुदान र विमा कार्यक्रम सञ्चालन गरिएको छ । भूमिहीन दलित, सुकुम्वासी, अव्यवस्थित बसोवासीको जग्गा नापजाँच गरी निस्सा वितरण गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा चेपाङ समुदायको लागि चिउरी चमेरो संरक्षण कार्यक्रम तथा पहाडी वडामा एकीकृत बस्ती निर्माणसमेत भएका छन् ।

नागरिकको गुनासो सुन्न र उनीहरुको आवश्यकता पहिचान गर्न जनतासँग मेयर कार्यक्रम सुरु गरिएको छ । राप्ती नगरपालिकालाइ प्रविधिमैत्री बनाइएको छ । नगरको प्रशासनिक काम प्रविधिमैत्री र डिजिटल माध्यमबाट भइरहेका छन् । सो नगरपालिकाले चालु आर्थिक बर्षदेखि दिगो आयआर्जनको उद्देश्यलाई प्राथमिकतामा राखि नगरलाई कफी जोन घोषणा गर्न वडा नं १३ स्थित गुन्द्रीमा कफीको विउ राख्दै कृषकलाई अनुदानमा कफी खेती सुरु गरिएकोमा वडा नं १० देखि १३ का किसानहरु कफी खेती तर्फ आकर्षित भएका छन् । समग्रमा आफ्नो कार्यशैलीप्रति नगरवासी उत्साहित भएको उनको भनाई छ ।