काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले सचिवालयबाट ६ जनालाई हटाएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो १४ सदस्यीय सचिवालयबाट ४ विज्ञ र २ सल्लाहकारसहित ६ जनालाई हटाएका हुन् ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार मुख्यमन्त्री आचार्यले राजनीतिक सल्लाहकार लक्ष्मणराज ज्ञवाली, जनसम्पर्क सल्लाहकार रामबहादुर राउत, अर्थविज्ञ ईश्वरीप्रसाद अर्याल, पूर्वाधार विज्ञ जीवन अर्याल, ग्रामीण विकास विज्ञ युवराज घिमिरे र शिक्षा विज्ञ दलबहादुर गुरुङलाई सचिवालयबाट हटाएका छन् ।
बुधबार मुख्यमन्त्रीको सचिवालयद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेतनारायण आचार्यज्यूको सचिवालयसँग जोडेर आइरहेका समाचार तथा टिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जारी गर्दै मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकार र विज्ञहरूको नियुक्ति गरिएको थियो । माननीय मुख्यमन्त्रीज्यूले ती सल्लाहकार र विज्ञहरुलाई विदा गरिसक्नुभएकोले यस सम्बन्धमा भ्रमपूर्ण समाचारहरूमा विश्वास नगर्न हार्दिक अनुरोध गर्दछौं ।
सुशासन प्रवद्र्धनका लागि प्रदेश सरकारले युवापुस्ताको भावना अनुसार सुरुदेखिनै काम गर्दै आएको छ । यसै क्रममा पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधा एक वर्षअघि नै खारेज गरिएको, पाँच लाखभन्दा माथिका योजनाहरू खुला प्रतिस्पर्धामार्फत कार्यान्वयन गरिएको, साथै भ्रष्टाचारविरुद्ध पाँच वर्षे रणनीतिक योजना बनाई कार्यान्वयन भइरहेको जानकारी गराउन चाहन्छौं ।’
केन्द्रीय अर्थ मन्त्रालयले फजुल खर्च रोक्न आवश्यकता भन्दा बढी विज्ञ, सल्लाहकार र संयोजक नराख्ने निर्णय गरेको थियो ।