उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जारी २’ अहिले बहसको विषय बनेको छ । फिल्म हलहरुमा लागिरहेको छ । समिक्षकहरूले समिक्षा गरिरहेका छन् । दर्शक प्रतिक्रिया आइरहेको छ । म फिल्म समिक्षक हैन, दर्शक हुँ । यहाँ म समिक्षा गर्दै छुइनँ, एक लिम्बुनी दर्शकको आँखाबाट ‘जारी २’ बारे केही शब्द लेख्ने दुस्साहस गरेकी हुँ । फिल्म हेरेपछिको नोस्टाल्जिया व्यक्त गरेकी हुँ ।
कलाकार तथा मुन्धुमविद यासेली योङ्हाङको स्वरमा गुञ्जिएको हाक्पारेबाट सुरु हुन्छ जारी– २ को सुरुवात । दृष्यमा देखिन थाल्छन् हाङ्माको माइतीबाट सैमुन्द्रीका सामानहरू बोकेर हिँडिरहेका मान्छेहरूको लस्कर । त्यो हाक्पारे र मैतालु लिएर फर्किएको दृष्यले मेरो समय र त्यसअघिको पुस्ताका जोसुकैलाई आफ्नै लिम्बुवान पहाडतर्फ डोहोर्याउँदो हो । जसरी मलाई तेह्रथुमको ओयाक्जुङ पुर्यायो । करिब २८ बर्ष अघि अन्तरे बाजेको छोरीहरूलाई सैमुन्द्री दिएर पठाएको धुमिल सम्झनाहरू आँखाअघि ल्याइदियो । त्यतिबेला देउरालीमा राँके मेला लाग्थ्यो । औंसी बजार, रामनवमी मेला लाग्थे । मेलाहरूमा तीन दिन तीन रातसम्म पाःलाम गुञ्जिन्थे । वल्लो गाउँमा बजाएको च्याब्रुङको ब्रुङ्–ब्रुङ आवाज पल्लो गाउँसम्म थर्किन्थे । बरधोजजस्ता च्याब्रुङप्रेमी हाम्रा माइतीहरू बिना निम्तो च्याब्रुङ भिरेर आवाज पहिल्याउदै टोलीमा मिसिन पुग्थे । ति सबै बन्द भएको जनयुद्ध पछि हो । यसरी हेर्दा मध्यान्तर अघि जारी–२ मा पाःलाम गुञ्जिने पहाड भेटिन्छ । पाःलाम र च्याब्रुङको मिँयो समाएर हिँडिरहेको समाज पढ्न पाइन्छ ।
जारी–२ जसरी नै बगेको छ मेरो समययात्रा । मध्यान्तर अघिसम्म मैले लिम्बुवान पहाडमा बाँचेको त्यो समय । मध्यान्तर पछि तराई झरेपछिको समय । जनयुद्धताका सरकार र बिद्रोही दुवै पक्षबाट पिल्सिनु परेको समय ।
ओयाक्जुङबाट हाम्रो परिवार सुनसरीको प्रकाशपुर बसाइँ सर्यो । वैदेशिक रोजगारीको सिलसिलामा साउदी जानुभएको बुबाको उतै निधन भएपछि ४ जना छोराछोरीको एक्लो अभिभावक बन्नुभयो आमा । बुबा बित्नुहुँदा आमा ३२ बर्षकी हुनुहुन्थ्यो । प्रकाशपुर झर्दै गर्दा म ८/९ बर्षकी हुँदी हुँ । वि.सं.२०५१ सालमा हामी बसाइँ सरेका हौं । वि.सं.२०५२ सालदेखि औपचारिक रुपमा जनयुद्ध सुरु भयो । ०५७ सालतिर प्रकाशपुरमा माओवादी योद्धाहरू छ्याप्छ्याप्ती देखिन थाले । माओवादीका पर्चाहरू छरपस्ट भेटिन थाले । धनाड्य र सामन्ती परिवारलाई थ्रेट हुन थाल्यो । घरघरबाट लाहुरेहरूको बन्दुक खोसिन थालियो । जारी–२ हेरेपछि अनुमान गरेँ, त्यतिबेला मेरो गाउँले भने नाम्साङ र उनका साथीहरूको नियति भोग्दै थियो ।
याक्थुङहरू जहाँजहाँ पुगेपनि आफ्नो संस्कारसंस्कृतिलाई सँगै लिएर गएका थिए । प्रकाशपुरमा याक्थुङ परिवार धेरै थिए । विवाह, बर्खान्तहरू आफ्नै संस्कारअनुसार गरिन्थ्यो । विवाहमा बन्दुक पड्काउने चलन थियो । जनयुद्ध सुरु भएपछि ति संस्कारसंस्कृतिहरू हराउँदै गए । जारी–२ मा नाम्साङको च्याब्रुङ च्यातिएपछि सुनसान बन्दै गएको पहाड जस्तै हाम्रो बस्ती पनि सुनसान बन्दै गयो । कतिपय घरबाहिर निस्किएका मान्छेहरू फर्किआउन छोडे । ज्ञानेन्द्र विरविक्रम शाह गद्दीबाट हट्नेबेलासम्म त हामीबाट हाम्रो भाषा, लिपी, संस्कारसंस्कृति छुटिसकेको थियो । हामी आत्माबिनाको प्राणी भइसकेका थियौं । त्यही दुःखाई हो जारी–२ ।

युद्धको त्रास कम गर्ने बहाना थिए यशकुमारका गीतहरू, जोसँग २३ वर्षपछि ‘जारी २’ ले गरायो भेट
कसैकसैसँग संयोगहरू मिल्छन् । घटनाहरू मिल्छन् । र, संयोगले मान्छेलाई भेट गराउँछ । यस्तै केही संयोग छन् गायक यशकुमारसँग । युद्धताका कतिबेला माओवादीहरू आइपुग्ने हो, कतिबेला आर्मीहरू आइपुग्ने हो ? त्राहिमाम् हुन्थ्यौं । २०५७ सालको अन्त्यतिर मेरो एसएलसी परीक्षा चलिरहेको थियो । त्यो समयमा साँझको ८ बजेपछि बत्ति नबाल्नु भन्ने माओवादीले उर्दी जारी गरेको थियो । हामीले दिनभर गहुँ काटेर रातको समयमा पढ्नु पथ्र्याे । गाउँमा बिजुली बत्ती आइसकेको थिएन । परीक्षामा पढ्नु त पर्यो । खाटमुनि टुकी बालेर, वरिपरि उज्यालोको प्रकाश ढाकेर पढ्थें। त्यसरी पढ्दा मेरो आँखाको वरिपरि पाप्रा उप्किएको थियो । त्यसरी पढेर उत्तीर्ण गरियो एसएलसी परीक्षा । एसएलसी पछि ठूलो दाजुले हामीलाई पढाउनको लागि काठमाडौं ल्याउनुभयो । माओवादी र सरकारबीचको द्वन्द्व झन्झन् चर्किरहेको हुँदा हामीलाई काठमाडौंमा बस्न एकदम गाह्रो भएको थियो । २०५९ सालतिर बालाजुमा डेरा गरेर बस्थ्यौ । ठूलो दाजुले कान्छा दाजु र मलाई एकजना छिमेकी दिदीको जिम्मामा छोडेर मलेसिया जानुभयो । त्यहाँ छिमेकी दिदीले गायक यशकुमारको ‘तिर्खा’ एल्बम ल्याउनुभएको थियो । सानो ब्यागमा अटाउने चाइनिज क्यासेटमा त्यो एल्बमका गीतहरू बज्थे । म ती गीहरू सुनेर दिन कटाउथें। एल्बममा समेटिएका ‘हिजो अर्कैसँग देखें’, ‘यही बर्ष तिमीलाई’लगायतका आठवटै गीतहरू कन्ठस्त थिए । त्यतिबेला यशकुमार भौतिक रुपमा युद्धमा होमिएका थिएनन् तर ‘मैले छोएको पानी चल्दैन’, ‘म आफ्नै आँगनमा’ जस्ता क्रान्तिका गीतहरू लिएर देशका कुनाकुना पुगेका थिए । उनी कहाँ बस्थे ? थाहा थिएन । तर टाढैबाट भएपनि देख्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । सेलिब्रेटीहरूसँगको भेट अहिले जस्तो सहज थिएन । ‘हिजो अर्कैसँग देखे’ गीतको म्युजिक भिडियो टिभीमा हेरेथें । यशकुमार मेरो यस्ता क्रस थिए कि, उक्त भिडियोमा खेल्ने मोडेलको ठाउँमा आफूलाई राखेर म कल्पनामा डुब्थें । पछि काठमाडौंमै पत्रकारिता सुरु गरें । इमेज टेलिभिजनको न्युज सेक्सनमा काम गर्न थालें । उक्त टेलिभिजनमा काम गर्न सुरु गर्दा मैले विवाह गरिसकेकी थिएँ । श्रीमान बुटवल, म काठमाडौं । श्रीमानश्रीमती अलग रहेको थाहा पाएपछि न्युज रुमकै एक सिनियर समाचार वाचकले मलाई मानसिक ह्यारेसमेन्ट गर्यो । त्यो दिगमिग लाग्दो क्षण कहिल्यै भुल्न सकिनँ । त्यो मान्छे अहिले राजनीतिमा लागेर बडो आदर्श र सुशासनको कुरा गर्दै लाज पचाएको देख्छु । उसको आदर्श छँटाइ देखेर मलाई खित्का छुट्छ ।
अँ म संयोगको कुरा गर्दै थिएँ । युद्धको उत्कर्षमा यशकुमारको गीतहरू सुनेर म युद्धका घाउहरू बिर्सिन कोसिस गर्थें । ती सेलिब्रेटी क्रससँग मेरो कहिल्यै भेट हुन पाएन । म काठमाडौं छोडेर श्रीमानको घर बुटवलमा बस्न थालेँ । पत्रपत्रिकामा पनि सक्रिय मेरो पत्रकारिता जीवनमा ब्रेक लाग्यो । आफ्नो जीवनसँग खुशी नै छु । तर, कस्तो संयोग ! करिब २३ बर्ष पछि सोही समयको परिवेशलाई कैद गरिएको फिल्म ‘जारी–२’ हेर्ने क्रममा उनै प्रिय गायक यशकुमारसँग भेट भयो । तस्वीर खिच्यौं । वास्तवमा वहाँ आउनुहुन्छ भन्ने सुनेरै मैले पनि सोही दिन फिल्म हेर्ने निर्णय गरेथें । आज पनि म वहाँको फ्यान हुँ ।
अन्त्यमा, जारी–२ मा केही कमजोरीहरू अवश्य छन् । यति हुँदाहुँदै पनि यो मेरो लागि उत्कृष्ट फिल्म हो । अभिनेता दयाहाङ राईदेखि सबै पात्रहरूले जीवन्त अभिनय गरेका छ्न् । यसका सिनेमाटोग्राफीले गाउँ पुर्याउँछ । गाउँका सम्झनाहरू आँखाअघि ल्याइदिन्छ । यस फिल्मका मुख्य पात्र हाङ्मा (मिरुना मगर) प्रति सधैं रक्षात्मक हुन्छन् उनका भाइ बरधोज (अनिल सुब्बा) । उनीहरूको सम्बन्धमा मैले आफ्नो दाजुहरू भेटें । फिल्म हेरिरहँदा कतिपटक हाङ्मासँगै रोएँ । आफू पनि श्रिमती र सन्तानको आमा भएर होला हाङ्मासँगै रुन मन लागेर आयो । यसअर्थमा जारी–२ फिल्म मात्रै हैन, हामीले बाँचेको समय, भोगाइ र दुखाइको प्रतिविम्ब हो ।