November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कविता: आफू आफैँसँग

केपी घिमिरे
२०८२ असार १४

1.1K

म बल्लतल्ल उठेको हुँ
सम्हालिएको हुँ

धेरैसँग ठोक्किदै
कसैलाई धकेल्दै र कसैलाई उछिन्दै
कहिले साँघुरा पाटाहरूमा
कहिले फराकिका फाँटहरूमा
हिँड्दै र दौडिदै
यहाँसम्म आइपुगेको हुँ ।

अर्कोपटक पनि भक्तिएँ भनेँ
जोड्न सक्नेहरूले जोडिदेलान्
च्यातिएँ भनेँ
सिलाइ देलान्
बिग्रेर लथालिङ्ग भएँ भनेँ
समेटी देलान्
तर मलाई फेरि मैलेजस्तो जतन गर्लान् कि नगर्लान् ,
म सोच्दा सोच्दै पनि थाकिसकेको हुँ ।

Advertisement

यो यात्रा त्यति सहज रहेनछ
यो जीवन त्यति सहज रहेनछ
यी सपनाहरू, रहरहरू र चाहनाहरू पनि
त्यति सहज रहेनछन्
यति बुझिसकेपछि पनि
म आफ्नै माया लागेर पिरोलिएको हुँ ।

सम्झिन्छु,
उदेकलाग्दो कथा बोकेर छातीमा
अनायास हराउने गोरेटोको यात्रा लिएर
तरेर नतरिने मनको खोलापारी
के छ मैले भेट्नु र हिँडिरहेछुँ होला ?
बरु मलाई यहीँनेर
कहिल्यै नबिउँझने गरी निदाउन मन छ ।

लाग्छ,
मलाई म भएकै आभास नहोस्
नहोस् कुनै तृष्णा
कुनै आड र भरोसा नहोस्
भक्तिने र सम्हालिने डर नहोस्
किनकी
आफू आफैसँग
गुनासो बोकेर हिँडिरहेँ
लामो बाटो
तर अब
अस्तव्यस्त यो दुनियाँ र जीवन भुलेर
अब म एकपटक म नभएको हेर्न चाहन्छु ।