‘हामीले पाल्पा छोड्नु पर्यो। छोड्ने अवस्था र कारणहरू अनेकौ होलान्, तर एउटा कारण बन्यो समाज र त्यससँग जेलिएको परम्पराको पाटो । म यो हरियाणा राज्यको हिसार सहरमा बसेको करिबकरिब १५ वर्ष भयो । दुई भाई छोराहरू यतै जन्मिए । जसको मेरो देशमा कुनै आधिकारिक जन्मदर्ता भएको छैन । यो दर्ता प्रक्रिया आवश्यक छ भन्ने ज्ञान भने पक्का छ ।’
म चुपचाप सुनिरहेको थिएँ । ऊ भनिरहेको थियो । आफ्ना ब्यथाकथाहरू, ‘यो शहरमा मैले बाच्नुपर्ने थियो । त्यो भन्दा पनि बढी साथमा एउटा भाग्यले दिएको बहुमुल्य उपहार, मेरो मुटुभन्दा प्रिय मान्छे । जसलाई पहिलो बच्चा जन्मिएपछि मात्रै आफ्नी श्रीमती भन्ने सामथ्र्य बनाएको थिए । शायद, मायासँगै अपार सम्मान हुनुपर्छ त्यो । हो, उसलाई पनि यो अथाह गर्मीमा बचाउनु थियो । त्यसपछि सुरु भएको थियो, श्री पशुपतिनाथ फास्ट फूड । जहाँ मोमो, चाउमिन, स्प्रिङरोल, फिङगरचिफ, बरगर, मन्चुरियन तथा साथमा थप परिकार सहितको यो गुड्ने ठेलागाडि वाला फास्ट फूड रेस्टुरेन्ट ठडिएको थियो यहाँ यस बिरानो ठाउँमा । यसको प्रमुख सेफ म हुँ र सहायक सेफ भने उनी हुन् । थप जिम्मेवारी क्यासकाउन्टर सम्हाल्नु पनि छँदै छ । त्यो चाहिँ कहिले म सम्हाल्छुँ, कहिले उनी ।’
मलाई यस्तो लागिरहेको थियो । ऊ आफ्ना कथाका नदी बगाइरहेछ म सामु । नदीमा पानी कम् पीडाहरु बगिरहेछन् । नीलो पीडा । किन हो ऊ किन ? मलाई यस्तो भान भइरहेको थियो कि ऊ आफ्ना सबै पीडाहरु मेरा सामु राखिदिएर त्यसबाट उन्मुक्ति पो खोजिरहेछ ? या, आफ्नो देशबाट आएको आफ्नै अनुहारको मान्छे देखेर सहज महसुस गरेर सहजतापुर्वक आफ्नो दुःख रोइरहेछ । म बगिरहेछु त्यही नदीमा । त्यही दुःखमा । ऊ सुनाइरहेछ, ‘नेपाली फास्ट फूड भनेर यी हरियाणाका मानिसहरु मेरो मुभेबल रेष्टुरेन्टमा खुब आउछन् । सबैभन्दा बढी मोमोज नै बिक्छ । हजुरलाई त थाहा नै छ खासमा यसको नाम मःम हो, तर यहाँ यिनीहरु यसलाई मोमोज भन्छन् । त्यहीँ नाम मेनुमा राखेमात्रै त्यो बिक्छ । यो बैष्णव क्षेत्र भएको हुनाले पुरै भेज हो । यहाँ ननभेज बेच्नु त परको कुरा सोच्नुपनि सयौँपटक सोच्नुपर्छ । मोमोज मिठो बनाउन मासु र बोसो सहित मसला पनि मिलाउनु जरुरी छ । हाम्रो नेपालमा त्यस्तै तरिका प्रचलित छ । त्यही भएर म मासुको ठाउँमा न्युट्रेला काटेर मासुकै आकारमा मोमोजमा प्याक गरेर बनाउँछु । बिक्री गर्छु । यसलाई स्वादिष्ट बनाउन खुर्सानी र टमाटरको अचार चटक्क बनाउनुपर्छ । यहाँका मान्छेहरु हाम्रो नेपालको भन्दा तीनचार गुणा नै बढी पिरो खान मन पराउछन् । हो, बढी धुलोवाला खुर्सानी प्रयोग हुन्छ । यो पेटको लागि बहुत खराब चिज हो । तर, सबैले यसलाई प्रयोग गर्छन् र म पनि गर्छु । मेरा छोराहरु पनि यतैका भए भन्दा फरक पर्दैन । खानपान र भेषभुषा सबै यतैको तवरमा अगाडि बढेको छ । पिरो खुव खान्छन् । स्वास्थ्यमा खराबी देखिएको छैन । तर, मेरो पेट हँुदै मलद्वारसम्म समस्या भई पाइल्सको आयुर्वेदिक ओैषधि प्रयोग गरिरहेछु र करिबकरिब राम्रो भईपनि रहेको छ । शायद जिउगुणा पनि हँुदो हो यस्तो । मेरो बुबालाई पनि पहिला नेपालमा मलद्वारको समस्या भएको याद छ । त्यही भएर आरनमा बस्न सक्नुहुन्न थियो । माइलो दाईले ढुक्कै पालो दिनु हुन्थ्यो । बुबा बित्नुभयो र माइला दाई मलेसियातिर भासिनुभयो । ऊ मलेसिया भासिएको पनि १८ वर्षजति भयो अब त । इन्डोनेसियाका भाउजु बिहे गरेर उनैसित उतै रमेर बस्नुभएको छ । मुर्दारले नेपाल र घरपरिवार चाहि चटक्कै भुल्यो । हुन त माओवादी भएर युद्धमा होमिएको समयमा पनि गाउँमा कहिलेकाही ऊ आउँदा निकै तान्डब मच्चाउथ्यो रे काकाहरु तासखेलिरहेको ठाउँमा ।’
उसको आँखामा यतिबेला सर्लक्कै उसको गाउँघर नाँचिरहेको थियो । म देखिरहेको थिए, ऊ मलाई किञ्चित अप्ठ्यारो नमानी बताइरहेको थियो, ‘कुरा गर्दागर्दै म त घरभित्र पसेर झण्डै माइला दाईको आधा जीवनीमा पो पसिसकेछुँ । धेत् ! अब यतैका आफ्नै दुःखसुखका कुरा सुनाउँछु है सर । मेरो रेष्टुरेन्टको नाम श्री पशुपति नाथ रहनुको कारण दुईतीनवटा छन् । म त्यो पनि भन्छुँ है । मेरो आस्थाको सबैभन्दा ठुलो भगवान पशुपतिनाथ हो । म कतार जाने भनेर भिसा पेश्न मेरो भिनाजुसँग काठमाडौं जाँदा पशुपतिनाथको दर्शन गर्ने अवसर मिलेको थियो । त्यहीँबाट घरका आफन्त र साथीहरूका लागि डोरामाला किनेको थिए । त्यहीबेला एउटा माला उपहार उनको लागि भनेर किनी लगिदिएको थिए । जसले हामी बिचमा माया अंकुरण हुन थाल्यो । र, त्यसलै हामीलाई श्रीमानश्रीमतीसम्म रुपान्तरण गर्न सहयोग गर्यो । आज हामी यहाँसम्म सँगै यात्रारत छौं । यो सबै श्री पशुपति नाथको कृपाले भएको हो भन्ने मलाई लाग्छ, त्यही भएर भगवानको पूर्ण सम्मानस्वरुप यो नाम रहन पुग्यो ।’
त्यति नै बेला एकहुल स्थानीय युवा युवतीहरू आए । आफ्ना लागि खानेकुराहरु अर्डर गरे । अर्डर लिएर ऊ फेरि हामी छेउ आए । फेरि शुरु गरे आफ्नो कथाको त्यो कालो कालखण्डका कुराहरु, ‘मैले यति भनिरहदाँ केही नमिठो अनुभव र पुर्नै नसकिने थुप्रै जीवनरुपी खाल्डाहरु छन् । त्यसलाई कसरी समधान गर्ने ? वा, त्यो उल्झन कसरी फेस गर्ने कहिलेकाही खुब मन पोल्छ र रातभरी सुत्न सक्दिन । मेरो तड्पाईले श्रीमतीलाई कसरी पोल्छ ? थाहा छैन । तर, मेरो मनमा कुरा खेल्न मात्र थाल्यो भनेपनि उनको अनुहारको भाव परिवर्तन भएको देख्छुँ । त्यहीँ भएर पनि मैले दुख्न वा मनमनै तड्पिन पनि मज्जाले पाएको छैन सर ।’
ऊ सास पनि नबिसाइ एकोहोरो बोलिरह्यो, ‘जसरी म मोमोज मिठो सब्जी वा परिकार राखेर १०० औं प्लेट बनाएर बिक्री गर्छु । प्राय मोमोज खाने कस्टमरहरुले बाहिरी आवरण हेरेर स्टिम वा फ्राइ डिमान्ड गरेर खान्छन् । जान्छन् । तर, यो मोमोज जस्तै बाहिरी आवरणमा सेतो सफा देखिने समाजभित्र खुर्सानी हालेर पिरो बनाएको कीमाजस्तो समाज पनि छ । जसले मजस्ता ठूला जातकीसँग अन्तरजातीय बिबाह गर्नेलाई प्रवासी बनाएको छ । त्यो कसले बुझ्ने ? मेरो कस्टमर जस्तै नाम र त्यसको बाहिरी आवरणमात्र देख्ने भाष्य निर्माण गर्दै समाज निर्बाध अगाडि बढिरहेको छ । सर मेरो र श्रीमतीको त जीवन यसैत्यसै बित्छ वा बित्ने भयो । तर मेरा दुई छोराहरु न यहाँको नागरिकको हैसियतमा छन् । या त नेपाली बन्न वा नेपाली हुँ भनेर गर्वका साथ भन्न नै सक्नेछन् । यो मानेमा बहुत दुःखित छुँ, सर । यति भनिसक्दा पक्कै तपाईंको मोमोज पनि सकियो होला । मेरो अर्को कस्टमरको लागि बनाएको चाउमिन पनि तयार भयो होला । धेरै समयपछि मनखोलेर धितमरुन्जेल नेपालीमा नेपालीसँग सम्बाद गर्न पाए । खुसी छँु । यो भन्दा अगाडि प्रत्येक मोमोजको डल्लोसँग कुरा गर्थे । मोमोजहरु सारै स्वार्थी… ग्राहकको मन र पेटको कुरा मज्जाले बुझ्छ । तर मेरो कुरा कैले सुन्यो होला र ? सुनेको भए त म यतिबेला मगरको घरमा ज्वाईँ राजा बनेर सासुले बनाएको जाड पिइरहेको हुन्थे होला । बाबु बित्नुभएपछि एकपटक त घर फर्कुजस्तो नलागेको पनि होइन । फर्किएको भए बेकार भएको आरनमा फेरि आगो बल्थ्यो होला । छोराहरु गाउँघरमा रम्थे होलान् । उनीहरुको पनि नागरिकता बनिन्थे होलान् । श्रीमती पनि त माइती जान नपाएको यतिका वर्ष भइसके । आफन्त भेटघाट गर्न पाउथिन् होला । बन्धन खुलिन्थ्यो होला । तर यो हुन सकेन र हुन्न भनेर निरासावादि पनि बन्नु भएको छैन । लु सर, यो हरियाणीको अर्डर आयो तपाईंको चाउमिन पनि बन्यो, भाउजूले पानी दिनुहुन्छ र पैसा पनि त्यतै है । (काउण्टरमा बसेकी बुढीतिर हेर्दै अलिक कस्सिएर कराउँदै) ओई बुढी ⁄ नेपाली सरहरुलाई छुटगर्नु है ।’
म अवाक् थिए । यो के थियो ? थुप्रै प्रश्नहरुको मौरीले चिलिरहेको थियो मलाई । म अवाक बनेर सुनिरहेँ ।
हिसार, हरियाणा
ट्रेन ६–७ः४९
हिसार (दिल्ली, झ्यालको सिट)