April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

कविता: उधौंली अलाप

सन्देश सुब्बा
२०८१ कार्तिक २४

580

यसपल्ट पनि
रहरलाग्दो फुल्नेछ पैंयूँ
टाहारी खेतमा झुल्नेछ धान
गैरीबारीमा पाक्नेछ कोदो
खुसी हुनेछन्
पितृ र प्रकृति
झुम्नेछ गाउँ उधौलीको उल्लासमा
तर
हने छैनौ तिमी, गाउँलेका भिडमा

निलोकाशमा बुट्टा भरेझैं
हिमालदेखि मधेसतिर झर्नेछ
क¥याङ्कुरुङ्को ताँती
रमाउनेछ अकेली मन
मात्र हुने छैनौ, म सँगै तिमी

चराका बथानले छाड्नेछन् लेक
माछाका हुल झर्नेछन् उँधैउँधो
केवल हुने छैनौ तिमी
गुरासे पाखामा याङ्बेन टिपीरहेकी म सँग

Advertisement

चासोक मेलामा
यसपल्ट पनि
घन्किनेछ च्याब्रुङ
गुञ्जिनेछ पालाम्
तर
सुनिने छैन्
तिमीले बजाएको च्याब्रुङको गुञ्जन
तिमीले गाएको पालाम्को मुच्र्छना

शून्य–शून्य लाग्नेछ
वस्ती
देउराली
बिसौनी
फलैंचा

तर
यो चासोकमा किञ्चित दुःखी हुने छैन म
म त माथि … मुक्कुमलुङसँग
तिम्रै दीर्घायूको कामना गरीरहेको हुनेछु ।

(याक्थुङ (लिम्बू) भाषाबाट अनुवादित । अनु.कवि स्वयंम् ।)