सायद
विम्बहरु यतैकतै छन्
तर, मैले तिनलाई समाएर
ठ्याक्कै क्यानभासमा सिँगार्न सकिनँ ।
भावनाहरु बिस्कुन लागेका छन्
तर, तिनलाई सम्हाल्नै सकिनँ
मेरो निस्वार्थ र निश्चल भावना
कहिलेकाहीँ
संवेदनाहीन हुने हो कि लाग्छ ।
मभित्र पल पल
शब्दहरु कुस्ती खेल्छन्
र, आगो निस्किन्छ
म ज्वाला दन्किरहन्छु
सभ्य समाजको चित्र
अँगारले कोरिरहन्छु
छितिजमाथि आकाशमा
लुकामारी खेल्ने
आकृतिहरु जस्तै चित्र !
मिलन हुनुपर्ने थियो
ती दुई किनाराको
तर, हुन सकेको छैन
म तिनको मिलनको आशा बोकेर
हिँडिरहेको छु ।
अरुण–५, जिमीगाउँ, भोजपुर