हङकङे जीवन एक पराजय झैं लाग्छ क्याप्टेन साबलाई । तर पनि नेपाल गएर गर्नु केही रहेन ।
दिक्दारी छ, तर उपाय छैन ।
“खै यो कस्तो रंगहरूको रमझममा फसियो चाहेर पनि न धान्न सकियो न त छाड्न सकियो चिनीमा भुलेको कमिला भएर ।”
यो सम्बादले एउटा लाहुरेको जीवनको उतरार्द्ध कालको विरक्त्ति दर्साउँछ । सोह्र/सत्र बर्षको किशोर ब्रीटिश लाहुरे बन्छ । करिब पैंतीस बर्षको उमेरसम्म नोकरी गर्छ । रिटायर्ड भएर केही बर्ष नेपाल बस्छ । पुन: सपरिवार हङकङ जान्छ र त्यहाँ नोकरी गर्दागर्दै साठी पैंसठ्ठीको हुन्छ । यस दौरान बालबच्चा पनि हङकङ आउँछन् र सिको गर्छन् बा आमाकै । छुट्टै समाज, छुट्टै संस्कार, छुट्टै भाषा र तौरतरिका । नातानातिना लिएर कोही युके जान्छन्, कोही घरबाहिर बस्छन् । अनि पाँचतला माथिको एउटा कोठामा लत्रिरहन्छन् जोइपोइ । दिनहुँको ड्यूटी छ, शरीरमा छ सुगर र प्रेसर अनि टेवलमा छन् केही पेचाउका बोतलहरू ।
यो कथा सतासी मामा र मनसरा क्ष्यमाको हो तर यस कथाले हङकङमा धेरैको खासगरी भुपू लाहुरेको हङकङे जीवनको प्रतिनिधित्व गर्छ ।
मैले यस लाइसीका १८ कथा मध्ये ९ वटा कथा मात्र पढेको छु । यहाँ तिनै पढिएका कथाहरूको बारेमा मात्र केही कुरा लेख्दैछु ।
यस संग्रहभित्र रहेका अधिकांश कथाहरू हङकङकै परिवेश र पृष्ठभूमिमा बगेका छन् । एउटा कथा ‘चीसो हावाले’ जसको परिवेश हङकङ बाहिरको छ । यस कथाकी नायिका पहिले नेपाल र पछि इजरायलमा रहेकी छिन् । कथामा म पात्रसँग जोडिएकी महिला पात्र छिन् अन्जना माधवी । जसको दाहिने ओठमाथि कोठी हुन्छ । साइबर सम्बन्धले सिर्जत अपरिभाषित सम्बन्धको अन्योलतामा छटपटिएको ‘म’ पात्रको अन्तरद्वन्द्वलाई संस्मरणात्मक शैलीमा अभिव्यक्त गरिएको छ, जो रोमान्चक र विष्मयकारी छ । म पात्रको जीवनको त्यो कुनै कालखण्ड एक सपना जस्तै छ, यसले मनमा अन्तर्द्वन्द्व आज पनि छोडेर गएको छ । यस कथामा नेपालीहरूले शिक्षित भएर पनि रोजगारीका लागि बाहिरिनु पर्ने बाध्यात्मक परिस्थितिको बयान छ र तीनको मनमा चलिरहने विश्मय करुणामय सुस्केरा छ ।
पढेका कथा मध्ये बेखुशी, अकथा र रेफ्यूजी यी तीन कथाहरूमा हंगकंगको नेपाली जीवन र त्यहाँको समाज अनि बाँच्ने तरिकाहरू बारेमा बर्णन गरिएको छ । बेखुशी कथामा एक यस्तो मित्रको बयान छ जो कुनै समय अभिन्न थिए तर समयान्तराल सगै बिरानो र निष्ठूर बनेका छन् । संम्भावित कारणहरूमा काम परिबर्तन गरौं भन्ने प्रस्ताब अस्वीकार गरिनु, चर्च जाउँ भनेको नमान्नु या डिस्कोमा भेटिएकी महिला लेखकसग नजिकिनु इत्यादि । यो एक मनो बिष्लेषणात्मक कथा पनि हो । बिपीको शैली यसमा पाइन्छ ।
यसमा हङकङको कन्स्ट्रक्शन्स काममा हुने जोखिमहरू असहजताहरू बारे पनि बोलिएको छ ।
अकथा भित्र धेरै कथा र उपकथाहरू छन् । पात्र र चचित्रहरू छन् । एउटा फरक नेपाल छ, तर परिस्थिति र भूगोल फरक छ । ’चड्के मामा’ कमजोर आचरणका भए पनि नेपालीहरू माझ लोकप्रिय नाम हो, जसले हरेकलाई मनोरञ्जन दिने र बेपरवाह बाँच्ने गर्दछ भने ’नम्बरी मामा’ चाहि बेसोमत र रिसाहा देखिए पनि इमानदार छन् । ’फेचाई’ पात्र अवैधानिक दुले नेपाली रेस्टोरेन्टहरूमा काम गरेर आफ्नो अबैधानिक हङकङ बसाइलाई सार्थक पार्ने पात्र हुन् जसलाई आउने जाने ग्राहकहरूको खबर थाह हुन्छ । ’रातो भाले’ रेस्टोरेन्टले भालेहरूलाई खानपान र मनोरञ्जनका विविध परिकार पस्केको छ । ’चुंगकिंग मेन्सन’को बिबिध नालीबेली छ, जो हङकङ कहिले नपुगेकाहरूले पनि थोरबहुत सुनेका छन् । धेरै नेपालीहरूको आम कथा त चुंगकिंग मेन्सन र रातो भाले रेस्टोरेन्टले बोकेको छ ।
त्यसै गरेर जोर्डनको नेपाली रेस्टोरेन्ट ‘जिरे खुर्सानी’मा दुर्भाग्यबस आगलागीमा परेर निधन भएका नेपालीहरूको बारेमा पनि कथा बोल्छ । रेफ्यूजी कथामा हङकङमा रेफ्यूजी बनेर पुगेकी एक पात्र शुष्माको कारुणिक कथा पस्किइएको छ । नेपालमा माओवादी युद्ध हुँदै गर्दा विरक्तिएर रेफ्यूजी बनी हङकङ पुग्छिन् सुष्मा । १३ दिनमा दलालले हङकङको जोर्डन पुर्याउछ, तब सुरू हुन्छ दुखको कथाहरू । संघर्ष गर्दै जाँदा कसैको प्रेमीका या श्रीमती हुँदै आमा बनेकी सुष्मा रेफ्यूजीको ट्याग भिरेर बाँच्दाबाच्दै हङकङबाट नेपाल फर्कनु पर्छ । सुष्माले हङकङमा धेरै शारीरिक र मानसिक दुखहरू भोग्नु पर्छ ।
पानीका धर्साहरु कथामा सारा नामको महिलाको जीवन कहानी छ । वानचाइको बारमा परिचय भएको साराले चेंगचाउ बोट यात्रामा आफ्नो बिगतदेखि बर्तमानसम्मको कारुणिक कथा बयान गर्छिन् । सानै उमेरमा बाआमाले दोब्बर उमेरको इन्डियन लाहुरेसँग बिहे गराइ दिन्छन् । लोग्ने नामको हिंस्रक पशुले अमानवीय शोषण गरिरहन्छ । चाँडै आमा बन्छिन् । यसै क्रममा हङकङ पुग्छिन् र सुरू गर्छिन् जिजीबिषा । दुःख छ, कष्ट छ, जवानीको पीर छ । जीवन मञ्चन नपुगेको नाटक जस्तै लाग्छ रे सारालाई जुन नाटकको बिचमै पर्दा झर्छ ।
बिस्मृतिको डिलमा कथा नोस्टाल्जियामा आधारित छ । आमाको याद, गाँउको घरको बग्रेल्ती सम्झना, दशैं तिहारको पीडादायी स्मृति यस कथामा पाइन्छ ।
उता गाँउघर उजाड हुदैछ, यता हङकङमै जिन्दगी घर्किदो छ । यो कारुणिक कुराले हरेक परदेशी पाठकको मन तान्छ । कथाको यी दुई संवादहरू “तिमीले भने जस्तो छैन पहाड । गाउँ छ घर छ तर गाँउघर उराल्ने बैंश छैनन । र “कति सजिलै क्यालेन्डरका पानाहरूमा पिंग खेल्दै आउछन् जान्छन् दशैं र तिहार ।“ कारुणिक छन् ।
च्यारिटी कथामा जक्की क्लबसँग जोडिएका पात्रहरूको चिरफार साथै सपनामा बाँच्ने प्रवित्तिरूको चित्रण गरिएको छ भने कान्छी कथा एक स्थानीय महिलाको कथा हो ।
यस कथामा एक फर्साइली र नेपाली प्रेमी चिनीया महिलाको आकर्षक आनीबानीलाई चित्रण गरिएको छ । जसले नेपाली भाषा जानेको छ र नेपालीहरूलाई आफ्नो मिजास कलाले आकर्षण गर्दै व्यवसाय बृद्धि गर्ने गर्छ ।
म कथा विधा मन पराउने तर कथा यस्तै हुन्छ भन्ने बिज्ञता भएको मानिस भने हैन । कथाकारहरूको आआफ्नै शैली हुन्छन् । दाजु गुरुङकोे पनि आफ्नै शैली छन् । लाईसीका मैले पढेको कथाहरू धेरैजसो संवादात्मक कम बर्णनात्मक ज्यादा छन् जसले गर्दा कथाकारको उपस्थिति कथाहरूमा ज्यादा छन् । शैली निजात्मक छन् । झापाका तेराख नामका एक लेखक सम्झन्छु जसले मय विधाको सुरुवात गरेका थिए । मय विधामा लेखिएका कुराहरू कथा जस्तै निबन्ध या निबन्ध जस्तै कथा हुन्थे । दाजु गुरुङका कथाहरू कताकता तेस्तै होकी लाग्छन् । पात्र, परिवेश र चरित्र चित्रणका हिसाबले पराजय, बेखुशी र अकथा निकै राम्रा कथा हुन् । चीसो हावाले, रेफ्यूजी, पानीका धर्षाहरू र बिस्मृतिको डिलमा मध्यम छन् । कान्छी र च्यारिटी केही कमजोर कथा हुन् की !
पराजय कथाले लाहुरेको जीवन चित्रण मात्र गर्दैन यसले केही सबालहरू पनि उठाउछ । जस्तै के पाए त लाहुरेहरूले लाहुरे बनेर ? युद्धबीरका सन्तान हामी र हाम्रा पुर्खाहरूको जीवनमा के गुणात्मक सुधार भो त ? आज पर्यन्त पलायनको श्रृखंलाहरू प्रकारान्तरले लाहुरे हुनुकै उपज हैन ? देश र राज्य स्वयन्त्रबाट लाहुरे समुदायका पुस्ताहरू टाढिनु दुःखद हैन ? सबभन्दा ठूलो सवाल हो, के गोर्खा भर्तीको औचित्य छ ? यसरी एउटै कथाको बारेमा धेरै कुरा मनन् गर्न, लेख्न सकिन्छ जो यो सानो लेखमा सम्भब छैन ।
लाइसीका कथाहरू पढेर आनन्द लिन सकिन्छ । हङकङ बुझ्न र हङकङको नेपाली जीवन बुझ्न लाइसी पढ्न जरुरी छ । लेखकको लेखन निरन्तरतालाई त म स्यालुट गर्छु । वहाँको भर्खरै आएको पुस्तक ‘नीरजोया’ माहिलो कृति ‘लाइसी’ र पहिलो कृति ‘टाँकीका फूलहरू’ प्रकाशित छन् ।
हरेकदिन १२ घण्टा काममा खटिएर पनि आख्यान जस्तो साहित्य लेखिरहनु त्यसमा पनि तीन/तीन कृति, धेरै ठूलो कुरा र प्रेरणादायी पक्ष हो । हङकङमा धेरै लेखक छन् । त्यसमा पार्ट टायमर ज्यादा छन् । दाजु गुरुङले निरन्तर लेखेर बाँकी सबैमा थप हौसला दिइरहेका छन् । यस हिसाबले उनी हङकङको साहित्यक अभिभावक पनि हो संरक्षक पनि हो ।
अन्त्यमा,
– बाँकी नौ कथाहरू नपढी लाइसीको चिरफार गर्ने घृष्टता गरेँ यसको लागि क्षमाप्रार्थी छु ।
– संग्रहको नाम ‘लाइसी’ भित्र लाइसी नामको कथा भेटिनँ । भए बेस हुने थियो ।
– कथाहरूमा समस्याको उठान या बर्णन छ, उपाय र उदेश्यबारे कम बोलिएको हो की ? लाग्यो ।
– कथाहरूमा प्रयोगात्मक र बैचारीक सौन्दर्य कम छन् । आउने कृतिहरुमा सुधार होला ।
लेखकलाई साधुबाद र शुभकामना छ । थप कृतिहरू पढिरहन पाऊँ ।
समिक्षक अशोक चाम्लिङ हाल अमेरिकाको भर्जिनियामा बस्दै आइरहेका छन् ।