April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

‘बागी स्त्रीको आत्मकथा’ वैचारिक हस्तक्षेप

बलिन्द्र योङहाङ
२०८१ भाद्र २

6.8K

‘बागी स्त्रीको आत्मकथा’ एक सशक्त काव्य कृति हो, जसले पितृसत्तात्मक समाज, लैङ्गिक विभेद, र स्वतन्त्रताको संघर्षलाई साहित्यिक र दार्शनिक दृष्टिकोणबाट प्रस्तुत गरेको छ । यो कृति विभिन्न खण्डहरूमा विभाजित छ, जहाँ प्रत्येक खण्डले स्त्री जीवनका विभिन्न पक्षहरूलाई प्रखर रूपमा उजागर गर्दछ । कविताहरूमा लेखकले समाजको अन्यायपूर्ण व्यवस्थालाई चुनौती दिने र स्त्रीको आवाजलाई सशक्त रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् ।

कृति आठ खण्डहरूमा विभाजित छ।पहिलो खण्ड, ‘बागी स्त्रीको आत्मकथा’ले स्त्रीमाथि थोपरिएको सामाजिक बन्धन र परम्परागत मान्यताहरूलाई चुनौती दिन्छ । विभेदपूर्ण सामाजिक न्याय वितरण प्रणालीमाथि धावा बोल्छ ।

श्रीमान्,

Advertisement

म जन्मिँदा स्वतन्त्र जन्मिएकी हुँ

नपत्याए सोधिहेर्नुहोस् एक पटक

गवाहीमा हुनुहुन्छ मेरा आफ्नै मातापिता

म सत्य बोल्दैछु

त्यो बेला थिएन ममा कुनै परिबन्द

बिस्तारै परम्परा निर्वाह गर्ने बहानामा

समाजका विधानहरु पालना गर्न

छेडिए नाक कान

पहिराइए चुरा बाला

हातदेखि पाउसम्म

मेरो शून्य निराकार मस्तिष्कमा

पहिलो पटक बनाइयो लैङ्गिकताको विभेदपूर्ण आकार

(स्वतन्त्रताको फिराद, पृ. ३५)

दोस्रो खण्डमा कविले समाजमा देखापर्ने तानाशाही प्रवृत्तिलाई उजागर गरेका छन् । मानिसको चेतना अपहरण गरेर कसरी आधुनिक दासहरु निर्माण गरिन्छन् । शक्ति र सत्ताको प्रलोभनमा कसरी भक्तहरु तयार गरिन्छन् भन्ने कुराको उदाङ्गो चित्रण गरेका छन्ः–

तानशाह भन्छ –

ए भीडहरु हो ! ए दासहरु हो !

म चुट्किला सुनाउँछु

तिमीहरु केवल हाँसिराख

सधैँ यसैगरी मेरो लयमा नाचिराख

दासहरु नाचिरहन्छन्

दासहरु हाँसिरहन्छन्।

(आधुनिक तानशाह, पृ. ४४)

‘तेस्रो खण्ड’ले समाजमा रहेका विभेद र अन्यायमाथि प्रश्न उठाउँछ । दलित सौन्दर्य र मुद्धासँग जोडिएका सवालहरु छन् । मध्ययुगीन विचारले ग्रस्त प्रदूषित प्रगतिशील वैचारिकतामाथि व्यंग्य गर्दै कवि लेख्छन्ः–

एउटा हातमा लालझण्डा फरफराउँदै

मुठ्ठी कसेर भनेका छन्

‘मालेमावाद जिन्दावाद’ !

अर्को हातभरि लालचुरा छन्छनाउँदै

भनेका छन्

‘ॐ नम शिवाय’

(क्रान्तिको रोमाञ्चकता, पृ. ६८)

कृति साहित्यिक दृष्टिकोणले अत्यन्त सशक्त छ । कविताहरूमा प्रयोग गरिएको भाषाशैली र हस्तक्षेपको तादम्यता भेटिन्छ।चौँथो खण्डमा समेटिएका ’बदलिएको सौन्दर्यचेत’, ‘बजारवाद’,स्वर्ण पिँजडा’, ‘शृंगार’ कविताहरुमा पुँजीवादी समाजमा महिलाहरूको वस्तुकरणको विषयलाई उठाइएको छ । पुँजीवादी समाजको धरातल पितृसत्तात्मक चिन्तन प्रणालीकै जगमा उभिएको छ।कार्ल मार्क्स भन्छन्, “पुँजीवादले व्यक्तिको मौलिकता र चेतनालाई मेट्न खोज्छ।“ कविले यहाँ पुँजीवाद र पितृसत्तात्मक समाजमा महिलाहरूले कसरी आफ्नो मौलिकता गुमाउँदै गएका छन् ।महिलाहरु स्वतन्त्र नभएर कसरी बन्धक बनाइएका छन् भन्ने विषयलाई कवितामार्फत उजागर गरेका छन्ः–

मिथ्या प्रशंसाको मोहमा मुग्ध भएर

थाहा छैन

कुन बेला गुमाएँ मैले आफ्नो चेतना ?

जहाँ मेरा आँखाहरु मेरा रहेनन्

ओठहरु,अंग प्रत्यगंगहरु मेरा रहेनन्।

(बदलिएको सौन्दर्यचेत, पृ. ८५)

कृतिका सबल पक्षहरुः–

१.सरल भाषाशैली

२.वैचारिक स्पषटता

३. समाजका विभिन्न पक्षहरूमाथि गहिरो विश्लेषण र आलोचना

४. नारी आवाजलाई प्रखर रूपमा प्रस्तुत गरिएकाले पाठकलाई विचारोत्तेजक बनाउँछ ।

दुर्बल पक्षहरुः–

१.नेपाली समाज वर्गले मात्र होइन वर्णव्यवस्थाले पनि विभाजित छ । यसमा वर्णव्यवस्था नमान्ने समाज पनि छ । हाम्रो समाज बहुल जाति ,बहुल संसकृति र सौन्दर्य चिन्तन बोकेको समाज हो । यसमा विभेदका आ–आफ्नै तप्काहरु छन् । कति समाज तुलनात्मक रुपमा उदार छन् भने कतिपय समाज धेरै संकुचित छन् । कविले पितृसत्ताको विरोधमा पुँजीवाद र हिन्दु समाजको दृष्टिकोणबाट मात्र कवितालाई प्रस्तुत गर्दा समाजको बहुल चरित्र नै हराएको छ।नारीमुक्तिको आन्दोलन कुनै एक विशेष समुदायको मात्र हो त ? यसमा कविता कतै बोल्दैन ।

२. खण्ड ‘५’ र ‘६’ को विषयवस्तु मिल्दोजुल्दो देखिन्छ, जसले खण्डहरु मात्र बढाउँछ ।

‘बागी स्त्रीको आत्मकथा’ एक प्रभावशाली काव्यकृति हो, जसले समाजमा विद्यमान अन्यायपूर्ण व्यवस्थालाई चुनौती दिएको छ । युवल नोआ हरारी भन्छन्, “आफ्नो आवाज नउठाउने समाज सधैँ दासत्वमा बाँधिन्छ ।” कृतिले नारीमुक्तिको आवाजलाई मुखरित गरेको छ । पाठकलाई विभेदपूर्ण सामाजिक व्यवस्था र पितृसत्ताको विरुद्धमा उभिन आव्हान गर्दछ । वर्तमान समयमा नारीवादी आन्दोलन, लैङ्गिक समानता, र महिलाको अधिकारका विषयमा विश्वभर बहस भइरहेको छ । यस सन्दर्भमा, यो कृतिले नेपाली समाजमा पनि यस्ता बहसहरूलाई उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । ‘बागी स्त्रीको आत्मकथा’ केवल साहित्यिक मनोरञ्जनको साधन नभएर समाज सुधारको लागि बुलन्द आवाज उठाउने वैचारिक हस्तक्षेप हो।