‘तेश्रो प्रहर जसै निदाएछ,
देखेछ आमालाई सपनीमा
र सुनाएछ आमालाई
जिन्दगी दुखेका कुराहरू
भावुक भएछ र
ब्यूँझाएछ आफ्नै आँसुले उसलाई ।’
जब भर्जिनियाका फराकिला सडकहरूमा गुड्दागुड्दै आफ्नो माटो र आमाको सम्झनाहरू ह्वार्ह्वार्ति आउँछन्, कवि तथा गजलकार अशोक चाम्लिङ ती यादहरुलाई कविता र गजलका रुप दिन्छन् । झापा जिल्लाको साबिक गाबिस कोहवरा–१ हालको गौरादह–५ का चाम्लिङ अवसर खोज्दै दोस्रो देश पुगेका बाध्यकारी युवाहरु जस्तै हाल अमेरिका पुगेर भर्जिनिया राज्यमा बस्दै आएका छन् ।
हरेकदिन नेपाली युवाहरू देश छाडिरहेका छन् । देशका होनहार युवाहरू विदेश पलायन भइरहेका हुन्छन् । त्यस्तै एक होनहार युवा थिए–अशोक चाम्लिङ । उनको पहिलो गजलसंग्रह २०५८ सालमा प्रकाशित भएको थियो । उनीभित्र देशभित्रै केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । साहित्यमा कलम चलाउँदै विविध पेशा अपनाए । पत्रकारिता गरे । प्रेस ब्यवसाय संचालन गरे । अन्ततः ती चटक्कै छोडेर अमेरिका पुुग्नु उनको बाध्यता थियो कि रहर ? चाम्लिङको उत्तर छ, ‘जिन्दगी कोसिस पनि रहेछ, धेरै कुरा कोसिस गरियो । झिटी गुन्टो बोकेर गुँड पनि धेरै ठाँउ सारियो । यो रहर भन्दा बाध्यता थियो । देशमा रहेरै केही गरौं भन्ने म नै आज परदेशमा छु । यसमा कतै बेतिथि कतै असक्षमता कतै परिस्थिति र समयको कुराहरू छन् होला !’
अमेरिका पुग्नुअघि रोजगारीकै सिलसिलामा चाम्लिङ सिंगापुर, हङकङ पुगेका थिए । ती यात्राहरुलाई यसरी स्मरण गर्छन् अशोक, “वैदेशिक यात्रा बाध्यता थिए । सिंगापुर चाहीँ लहैलहैमा पुगियो । केही त राम्रै होला भनेरै पुगियो, तर त्यस्तो लागेन । म त्यहाँ विद्यार्थी बनेर पुगेको थिएँ । त्यहाँको नेपालीहरूको जीवन र उनीहरूको अवस्थाहरू पढेर आएँ । समग्रमा जीवन बुझ्ने एक कालखण्ड थियो त्यो समय पनि । करिब वर्ष दिन जस्तो बसेर फर्किएँ । सन् २००७ तिर हङकङ पुगेँ । त्यहाँ आम नेपाली जस्तै संघर्ष गरियो । त्यहाँको औसत नेपालीहरूको जीवन र नेपाली समाजबारे थाहा पाइयो । नेपालीको समग्र जीवनयापन हेरियो । हङकङ पनि करियरको राम्रो गन्तब्य हो, तर कामको प्रकृति, समाजको समग्र स्तरीयता, भाषा र बच्चाहरूको भविष्य अमेरिकाजति फराकिलो छैन । सन् २०११ को डिभी भिषा पाएपछि म यता आएँ । हरेक ठाउमा पुग्दा शुन्यबाट जिन्दगी सुचारु गर्नुपर्दा उच्छवास पनि आउथ्यो । यो उच्छवास शारीरिक कष्टको भन्दा पनि भावनात्मक थियो ।”
एउटा चर्चित गीत छ– ‘जसो गर जे गर जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो ।’ हो त्यस्तै अशोकको भौतिक शरीर जहाँजहाँ पुगेपनि उनको मन नेपाल मै हुन्छ । “आज पनि दिनहुँ परदेसिने नेपालीको संख्या घटेको छैन । देशमा स्थिति सुधार भए परदेश लाग्न पर्ने थिएन कि ? भन्ने लाग्छ”, चाम्लिङको धारणा छ ।
उनी जहाँजहाँ गए, उनका साहित्यक मन पनि सँगै गयो । सबैठाउँबाट फुटकर रुपमा कविता, गीत र गजलमा कलम चलाइरहेका हुन्छन् ।
जीवनलाई जताजता पुर्याए पनि हातमुख जोड्नमै सिमित रहेको उनी बताउँछन् । जसले गर्दा लेखनमा खासै निरन्तरता रहन नसकेको स्वीकार्छन् । यद्यपि उनको साहित्यिक मन मरेको छैन । ज्यादातर कविता र गजल पढ्न मन लाग्ने गरेको बताउँछन् । कविता, गजल लेख्ने पढ्ने गरिरहन्छन् । उनी भन्छन्, “अन्य विधाहरू पनि मन पर्छ, पढ्छु । मेरो मुख्य विधा गजल हो । गजल विधाको माहौल सबैतिर हुँदैन । परदेश लागेपछि पुराना साथीभाइ पनि छुटे । गजलको माहौल नभएर पनि होला लेखन पातलो बनेर गयो ।” उनको भनाई छ ।
“परदेश लागेपछि त जीवनको लय झन् बिग्रेजस्तो हुने रहेछ । हेर्दा ठीक छ जस्तो तर सधैं केहि नपुगेको तरकारीजस्तो । जिजीविषा र अवसरको खोजी गर्दै कहाँकहाँ पुगियो, मन भने सधैँ नेपाल मै रहिरह्यो ।” उनको थप भनाई थियो ।
लगभग विश्वभरीका युवाहरुको सपनाको देश हो अमेरिका । चाम्लिङलाई भने सपनाले भन्दा पनि जिम्मेवारीले पुर्याएको थियो अमेरिका । के ती युवाहरुले कल्पना गरेजस्तै साच्चै सुन्दर छ त अमेरिका ? उनको नजरमा सपनाको अमरिका र यथार्थको अमेरिकावीच फरक छ, “अमेरिका आउने सपना धेरैको हुन्छ । नेपाल सरकारका उच्च पदमा आसिन कर्मचारीहरु पनि अमेरिकातिर बसाइँ सरिरहेका हुन्छन् । नक्कली सन्तानमात्रै होइन, नक्कली शरणार्थी बनेको यथार्थ हामीबिच छिपेको छैन । तर सोचेजस्तो सजिलो छैन यहाँ । यो त बिलाउने देश हो । यहाँ आएपछि आउनेहरूको पहिचान सकिदै जान्छ । सन्तान दरसन्तान सबै अमेरिकी बन्छन् ।”
नेपालजस्तो अविकसित देशका मानिस अमेरिका आउन चाहने र अमेरिकालाई नेपालीजस्तै श्रमिक चाहिने भएकोले आउने जाने क्रम चलेको चाम्लिङको भनाई छ । अत्यन्तै विकसित देश अमेरिकामा श्रमिकहरूको अभाव छ । अवसर प्रसस्त छन् जीवनस्तर राम्रो छ तर हरेकले काम नगरी सुखै छैन । विधि र नियम कानुनको कार्यान्वयन निष्पक्ष रहेकाले विकसित मानसिकतालाई कायम राखिराख्न सजिलो भएको छ । “सिक्ने कुराहरू धेरै छन्, नसिक्न पर्ने पनि छन् ।” यसबिचमै अशोकको सुझाव पनि छ ।
नेपालमा हुँदा साहित्यमा कलम चलाउदै आइरहेका थिए । अन्य विविध पेशाका साथमा प्रिन्टिङ प्रेसको व्यवसाय पनि सञ्चालन गर्दै आएका थिए । ती सब चटक्कै छोडेर अशोक अमेरिका पुगेका थिए । वर्षौं भयो सपरिवार अमेरिका बस्न सुरु गरेको । तर आफ्नो नजरबाट नेपाल कहिल्यै नहट्ने उनको भनाइ छ । उनी भन्छन्, “नेपाल आफू जन्मेको ठाँउ हो घर हो देश हो जो सधैँ सुन्दर देखिन्छ । माया र अपनत्वले हेर्नु पर्छ । मनबाट नेपाल कहिले हट्दैन ।”
अन्य युवाहरुले जस्तै जीवन धान्ने सिलसिलामै चाम्लिङले धेरै देश पुगे । श्रम गरे । संघर्ष गरे । ती संघर्षको नजरबाट नेपाललाई हेर्दा यहाँका राजनीतिकर्मीहरुले सिक्नुपर्ने धेरै कुरा बाँकी नै रहेको जस्तो लाग्छ उनलाई । “मैले देशबारे सोच्दै गर्दा केही यस्ता कुराहरू मनमा आउछन्, प्रथमतः नेपालको राजनीतिले कहिल्यै लय लिएन । यहाँको जस्तो विधिको साशन स्थापित होस् भन्ने लाग्छ । यहाँ देखिएका लोकतंत्रको अभ्यास, न्याय प्रणाली, सामाजिक न्यायका व्यवहारिक सिद्धान्तहरू जस्तै थुप्रै कुराहरू नेपालका राजनितीकर्मीहरूले सिके हुन्थ्यो’, चाम्लिङ थप्छन्– ‘देशमा बिकास हुनलाई राजनैतिक स्थायित्व चाहिने रहेछ, त्यो होस् भन्ने लाग्छ । देशको बिकास हुदै गएमा समाजमा सोचको बिकास हुने रहेछ । यहाँ कोही शिक्षित बेरोजगार हुदैनन् । नेपालमा शिक्षित बेराजगारी किन बढेर गयो ? सोचिनु पर्छ । पलायन भइरहेको नागरिकलाई रोक्न सक्नुपर्छ । यी सबै भैकन पनि नेपालीहरू अन्य देशका मानिस भन्दा आत्मीय र सहयोगी मनका धनी हुन्, मिलनसार हुन् । नेपाल देश सुन्दर छ भलै बिकास कम छ । एउटा कुरा के लाग्छ भने, काम नै नहुदा पनि भोकै बस्न नपर्ने देश नेपाल रहेछ । रोजÞगार र पैसा नहँुदा पनि नेपालीहरू सुखैले बाँचेका छन् । यहाँ त काम नभए भोकै परिन्छ ।”
अन्तिम प्रहर सपनीमा
जब देखेछ उसले आफ्नो प्रियसीलाई
तर कफी समेत पिउन नपाउँदै
बज्यो पहिलो अलार्म
किरिङ्..! किरिङ…!
उफ् ! कति कर्कस यो अलार्मको
दोश्रो घण्टी बज्नुअघि
उस्ले फे¥यो अलार्म ‘साउन्ड’
थाहा छ तथापी उसलाई कि, भोलि ठीक त्यही समयमा
त्यो अलार्म बज्नेछ फेरी ।
हो, भर्जिनियामा अर्लामसँगै ब्युँझिएर घडीको सुइमा दौडिरहेका छन् चाम्लिङ । त्यो विशाल सहर र चौडा सडकहरुमा जन्मभूमिको यादहरुसँगै उनी बगिरहेका हुन्छन् । बालापनका बग्रेल्ती यादले सताउछन् । सँगै हुर्केबढेका, खेलेका साथीहरू, खोला, काँन्ला र खेतबारीको याद आउँछन् । आफन्तहरूको सम्झना र चाडबाडको याद आउँछ । तब उनको मनले देशलाई प्रश्न गर्छ– “साच्चै देशले हामीलाई कहिले फिर्ता लैजान्छ होला हगि ?”