मैले हिडेर पर पुग्दा
मेरो पैतलाका डोबहरू तिमीले देख्न नपरोस् !
म उडिरहँदा माथीमाथी
तिमीलाई मेरो तौल थाहा नहोस्…
चामल केलाएर कनिका झिके झैँ
म आफैबाट आफैलाई केलाएर
स्वयम् आफ्नै सुन्दर स्केच बनाउनेछु…
प..र पुग्दा थाक्दा हुन आफ्नै हातखुट्टाहरू
म आफैलाई सम्झाउँदै
तय गरिरहनेछु गन्तब्यहरू…..
मलाई घेर्दा हुन् तिम्रा यादहरूले
जसरी घेर्छन् पहाडहरूले उपत्यका
यादहरू मै म जमे पनि
उपत्यकामा जमेर बसेको बादल जस्तै,
म चुपचाप–चुपचाप
तय गरिरहनेछु यात्राहरू,
याद नै नआए झैँ गरी ।
बन्द गरेर मनका झ्यालहरू
तिम्रा प्रेमिल शब्दहरूलाई
बनाउने छैन म ढुकढुकी
टाढाटाढासम्म एक्लै हिँडिदिन्छु
थाहा नपाए झैँ गरी..
केही नभए झैँ गरी…।
बरू सक्छौ भने तिमी
त्यतै फालेर जाऊ
तिमीले र मैले संगै देखेका सपनाहरू !
मेटिदेउ बरू
तिमीले मेरो मनसम्म गरेको यात्राका पदचापहरू।
मैले त त्यहिँ बाटो हिँड्नुछ
जुन तिमीले कहिल्यै नहिँड्ने भनेर छोडेको थियौं ।