April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

कविता: प्रतिक्षा

सूजता लिम्बु
२०८१ असार १

1.9K

म बगर बनेर
बस्नेछु, तिम्रो सामिप्य कुरेर
तिमी छाल बनेर आऊ ।

भेल नबन्नु,
तिमी छाल बनेर आउनु ।

आवेग, उत्तेजनाले
भेललाई तानेर ल्याउँछ,
थाहा छ नि तिमीलाई ?
उत्तेजना आवेगले पखालिदिन्छ,
मेरो प्रेमको मुहारबाट मुस्कान ।
बरु तिमी
एकदमै सुस्तरी आऊ,
जाडोलाई विदा गरेर
आउनै लागेको बसन्तलाई
स्वागत गर्न
चैत्रमा बग्ने कोमल समीर झैँ ।

Advertisement

तिमी आवेग, उत्तेजनाको साटो
सुसेली फुक्दै सललल बगेको
अनि बेलाबेला
बगर छुने त्यो छाल भएर आऊ ।
प्रेम, आत्मियताको माहोलमा तिमी
मलाई डुबाउने गरी आऊ ।

तिमीलाई भेट्नुको
नजिकिँदै जानुको
तिम्रो अंगालोमा बेरिएर
प्रेमको गहिराइमा डुब्नु
सबै–सबै कुराहरूको महत्त्व
रहोस्,
म त्यही बगर बनेर
तिम्रो सामीप्य कुरेर बस्नेछु ।