म प्रेमको परिभाषा
खोजीरहेछु यतिबेला, २
निमोठिएर चुँडिएका
गुलाबका थुंगा–थुंगाहरूमा
र म सोधिरहेछु
मायाका अनुभवहरू
च्यातिएका प्रत्येक गुलाबका
पत्र–पत्रहरूसँग
तर, मौन गुलाब मौनताभित्रै
सुँक्सुकाई रहेकी हुन्छे ,
ऊ निरुत्तर बन्छे आफैं,
आफ्नो हत्याको
कारण बुझ्न नसकेर ।
(हुन पनि त हो,
के कसैको प्रेम प्राप्ति भन्नाले
कसैको जीवन समाप्ति हो ?
अनि, कसैलाई प्रेम अर्पण गर्नु भनेको
गुलाबको घाँटी रेटिनु नै हो ?) २
अनि म आफू पनि निरुत्तर भएर
स्तब्ध बन्छु,
तब केही मिठा भावनाहरू मभित्र
उर्लिएर आउँछन्
र मलाई कानेखुसी गर्छन्
प्रेम दिवस मात्र प्रेमी–प्रेमीकाको
लेनदेनको माध्यम होईन
प्रेम दिवस त स्वच्छ मनबाट दिईने
मिठो प्रेम हो,
आत्मीयताको प्रतीक हो
जो जस्लाई र जहिले पनि
निःसंदेह दिईन्छ अनि लिईन्छ
प्रेम दिवस यसैको पर्याय हो
हरपल, हर समय
बाँडिने अन्तर्मनको मिठो
आभास हो भन्दै
अनि म, मेरो प्रश्नभित्र आफैं
उत्तर बनेर गुन्जिन्छु
र, ती ओईलिएर सुकेका गुलाबहरूलाई
म पटकपटक चुम्छु
अफ्सोच! ती ओईलाएर सुकेका गुलाबहरू
भूँईभरी असरल्ल छरिई रहेकै हुन्छन्
म प्रेमले समेटेर ती गुलाबका
पत्र–पत्रहरूलाई
मेरो पुरानो डायरीको पानाहरूभित्र
राखी दिन्छु
बल्ल, ती गुलाबका पत्रहरूले
आफूहरूले पनि प्रेम प्राप्तिको
अनुभूत गरे झैं लाग्छ
म सन्तोषको सुस्केरा लिएर
टोल्हाउँन थाल्छु ।