March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

आत्मा

युवराज घलेभाइ
२०८० माघ २७

2.4K

कविता

मान्छे मरे पनि आत्मा मर्दैन भन्छन्
सुनेको मात्र देखेको छुइनँ
हो कि होइन ।

अतृप्त आत्मा भूत–प्रेत बन्छ भन्छन्
सुनेको मात्र देखेको छुइनँ
हो कि होइन ।

हुन त भए पनि केही छैन
नभए पनि केही छैन ।

Advertisement

अमर आत्मालाई के चाहियो
मान्छेलाई जस्तो जिउनुपरेको छैन
कमाउनु खानु लाउनुपरेको छैन
बचाउनु परेको छैन
भोक तिर्खा खप्नुपरेको छैन
दश–नंग्री खियाउनुपरेको छैन
न भूतमा मर्नुपरेको छ
न वर्तमानमा बाँच्नुपरेको छ
न भविष्यमा साँच्नुपरेको छ ।
अमर छ
बाँच्नै पर्दैन
त फेरि किन बाँच्नु
बाँच्नु परे पो बाँच्नु
जिउनुपर्ने संघर्षमा ।

मान्छेले भोगेको जिन्दगीको ज्ञान छैन,
जिउनुलाई छोराछोरी, स्वास्नी बेच्दाको
समस्या बुझेको जानेको छैन भने
आत्मा कुन ठूलो कुरा हो !

मान्छेलाई त जसरी भए पनि
बाँच्नु छ,
अर्काको मरण्च्याँसे नानी बोकेर
सहानुभूति बटुल्दै ।
यसर्थ, बेच आत्मा र
किन ऐश–आराम
मोज–मज्जा
भोग–विलास
दुइ दिनको जिन्दगीमा
मरिलानु के छ ?
आखिर आत्माले खानदिने होइन
बाँच्नु छ आफूलाई बाँचुञ्जेल
यसर्थ बाँच आत्माबिहिन भई
मर आत्माहिन भई ।।

अमरसित मर्दैन आत्मा
हामीसित बाँच्दैन आत्मा
यसर्थ मार आत्मालाई
देखाउ परमात्मालाई
र बचाउ आफूलाई
यसरी बाँचिरहेका छन्
धेरै धेरै मरेर बाँच्नेहरु र
बाँचेर मर्नेहरु ।।

युवराज घलेभाइ गान्तोक सिक्किम (भारत )का कवि हुन् ।