April 18, 2025, Friday
२०८२ बैशाख ६
1:37:26 pm

बागदातामा अल्झेको रुङ्री

शुष्मा रानाहँमा राई
२०८० माघ ६

6.9K

कविता

चलिरहेको छ उसरी नै अझैसम्म बतास
हो यसरीनै जिउदो छु म पनि
तर
पूर्ण छजस्तो लाग्दैन यो समय
अपूर्ण छ भनौं पनि कसरी ?

सपनाहरूको गन्तव्यमा
थाहै नपाई छोरी अर्काको भएपछि
काखबाट सरेर
चुला र मनमा मात्र बाँकी रहेको साइनो
आपाले त्यही साइनो पनि
बागदाता दिएर पठाउने विचार गरेछन्…
आपा,
तिम्रो हृदयमा अझै पनि उस्तै छु म
यो नागरिकताजस्तो बाग्दाता
आफ्नो देशभन्दा
अर्को देश मन पराउँने मान्छेहरूका लागि
आफ्नो जन्मदाता भन्दा अर्को प्रेमलाई महान् मान्नेहरूका लागि
बनाइएको एक नियम मात्र हो ।

Advertisement

देश छोडेर जान्छु भन्नेको पहिचान
फाल्नै पर्यो देशले
घर छाडेर जान्छु भन्नेको पहिचान
फाल्नै पर्यो चुलाले
आपा,
म जन्मेकै देशमा बस्न चाहान्छु,
म जन्मेकै चुलामा मर्न चाहान्छु
नागरिकता त्यागेर हिडेको छोरोले
पराई देशमा बाँच्न सकेन भने
बागदाता लिएर हिंडेकी छोरीले
पराई घर रिझाउन सकिन भने
कहाँ जाने उनीहरू ?

छोरीलाई फर्केर आउने चुला चाहिएजस्तै
छोरोलाई पनि फर्की आउने देश चाहिन्छ ।

मलाई थाहा छ
घरमाथि झ्याम्मिएको मेरीलाभोची*
घरमुनि अग्लिएको मिचिलिम्माची*
वाबुचि*, नछुङचि*, रमिपमीचि*
सबैले छोरीलाई बागदता दिइहाल्नुपर्छ
भनिरहेका छन्
तिम्रो चुलाबाट निस्केकी छोरीलाई
तिम्रो मायाले अल्झाई नराख भनिरहेका छन्
आमा १
अझै पनि म तिम्रो मुटुमा
उही छोरी उसरी नै बाँचिरहेकी छु ।

म सुनिरहेछु-
सपनामा बारम्बार भन्छन् पितृहरूले
‘तँ बागदाता नालिई मरिस् भने भड्किनेछ तेरो रुङ्री
तँ उसको हुँदिनस्, जोसँग तेरो मुटु गाँसिएको छ अहिलेु

ए, बन्द गर त्यो रेडियो !
कसले बजाइरहेछ गीत ?
‘तारी नदेऊ ए माझी दाइ माइतिको पाप लाग्ला
तारी नदेऊ ए माझी दाइ मायालुको पाप लाग्ला’
सम्बन्धलाई टुक्राउने नदीजस्तै यो संस्कार
म परिवर्तन गर्न चाहान्छु ।

मसँग बाँच्ने अर्को मुटुले
मसँगै बस्नेछ मेरो चुलामा एक जुनी
उसँगै जोडिएको मेरो मुटुले
उसँगै बस्नेछ उसको चुलामा एक जुनी
एकै ठाउँमा सातै जुनी कटाउन कसले भन्यो हँ ?

बागदाता- वाचा, प्रतिवद्वता । राई जातिमा छोरीलाई कुटुम्बघर दिँदा कुटुम्बहरुलाई गराउने प्रतिवद्वताको रीत ।
रुङ्री– सातो
मेरीलाभो मेरीको पात।कटुस प्रजातिको रुख।धामीहरुले प्रयोग गर्ने सेउली।
मिचिलिम्मा धामी बसाउदा चाहिने तितेपाति प्रजातिको बोट ।
वाबु– चिण्डो
नछुङ्.धामी
रमिपमी– सरसमाज
*स्पष्टीकरण: मुन्दुमको रिसिया (मन्त्र) गाउँदा ‘चि’ भनेर आदरार्थी भावको रूपमा पनि प्रयोग गरिन्छ ।