एकैछिन
मात्रै एकैछिनको
तरेबा भएर आइपुगेको थिएँ
त्यो साँझ…!
–––––––––––
मेरो आँखामा पैँयू फुल्यो
र,
माछाको भुराजस्तै
चिप्लेटी खेल्दै आएँ
मा
थि
सराङ कोक्माबाट
उधैँ
उधोँ
लोकमार्गको खोला हुँदै ।
अँध्यारो निल्दै गरेको पूर्णे जून,
छाँया पछ्याउँदै हिँड्ने ताराहरू,
बसाइँ सरिरहने बादलका टुक्राहरू
नियाल्दै
म
तरेबा भएर आइपुगेँ याक्सानेर ।
–––––––––––
जब
छोएँ भुइँ
यस्तो लागेर आयो –
सूर्जेलाई फन्को मारिरहेको पृथ्वीझैँ
याग्राङसिङ वरिपिरि घुम्दैछ मेरो मन,
चमेन तङसिङमा कासाको थाल ठट्टिन्दा
येवा कामेझैँ जीउभरि छुट्दैछ कम्पन,
अनि,
छर्केर सुनपानी, छोएर आगो तितेपाती
छिरेँ याक्साभित्र ।
–––––––––––
तरेबा मात्र
न थिएँ म,
तर, तानिन् मुस्कानको लहराले,
पीरा र गुन्द्रीसँगै सौम्यता बिछ्याइन्,
आफू थोरै पर सरिन् र उभ्याइन् अगाडि
ताप्लिजोङे मर्चा मिस्सिएको ढुङ्ग्रो…!
पहिलो सर्काे – सक्खरभन्दा गुलियो,
दोस्रो – केवालुङभन्दा अप्ठ्यारो,
तेस्रो – सम्झनाभन्दा गहिरो ।
–––––––––––
एकैछिन
मात्रै एकैछिनको
तरेबा भएर आइपुगेको न थिएँ
त्यो साँझ…!
–––––––––––
अगेनामाथि तातिएको फ्वाँसीभन्दा
याक्साबाहिरको सरगर्मी छ रापिलो
थाङ्वेन–मेन्छया एकापट्टि घुम्दैछन् फनफनी
तुम्भाक्साहरू अर्कापट्टि सर्दैछन् सुस्तरी…
सर्लाइ मा स…४४४…सर्लाइ मा स…!!!
पालाम घन्किन्छ आँगनभरि, हाक्पारे गुञ्जिन्छ दिलभरि
अनि,
तान्छु गमेर
चौथो, पाँचौ, छैटौं सर्काे … !
–––––––––––
‘उनी’ फेरि देखा पर्छिन्
अनुहारमा न्यानो बोकेर….
च्याब्रुङपछि लाग्छिन्
कहिले दाहिने, कहिले देब्रे,
कहिले अगाडि, कहिले पछाडि,
च्याङ दुम् च्याङ…!
र,…
आठौँ सर्काे तान्छु ।
–––––––––––
एकसाथ
राताम्मे भयो
पूर्वतिरको आकाश र आफ्नो गाला
अब, घाम उँघेर निस्कनेछ
मिक्लाजोङको पहाडको बिस्ताराबाट
त्यसअघि,
छाड्नु छ याक्साघर…
लाग्नु छ सबेरै आँखा मिच्दै
कहीँ ‘दूर…………….दराज’
–––––––––––
एकैछिन
मात्रै एकैछिनको
तरेबा मात्रै भएर आइपुगेको थिएँ
………………त्यो साँझ ।